चिसो छल्न रारा आइपुगे विदेशी चरा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो छल्न रारा आइपुगे विदेशी चरा

राजबहादुर शाही

मुगु — चिसो छल्न रारामा विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतबाट चराहरू आउन थालेका हुन् ।


कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाास, चखेवा–चखेवी, कर्‍याङकुरुङ मरुललगायत विदेशी चराहरू जाडो छल्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

साइबेरिया, युरोप, मंगोलिया, मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँ सराइ गर्दै रारामा आइसकेको कार्यालयका रेन्जर सरोज खड्काले बताए । उनका अनुसार अघिल्लो वर्ष करिव १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए । ‘मंसिर दोस्रो साताभित्रै पंखथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाा प्रजातिका चरा देखिएका छन्,’ उनले भने ।

निकुञ्जका अनुसार पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरू यहाँ आउने गरेका हुन् । बाहिरी देशबाट आउने यी चरा कम्तीमा पाँच महिना यहाँ बस्ने गरेका छन् । मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देखिन्छन् ।

तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चराहरू उक्लिने गरेको निकुञ्जका अर्का कर्मचारी पदम बुढा बताउँछन् । चराहरू राति बास बस्न तालनजिकका ढुंगे ओढार, रूखमा आउने गरेका छन् । मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चरा देखिनुका साथै चिरबिर सुनिने गरेको रारा मुर्मा गाउाका गोर्ख रोकायाले जनाए । जिल्लाभित्रका रैथाने चरा पनि चिसोमा रमाउन रारा जाने गरेका छन् ।

नेपाल पक्षी संरक्षण संघबाट गत वर्ष तीनसदस्यीय विशेषज्ञ टोली रारामा आएर फिरन्ते चराहरूको अनुसन्धान गरी फर्किएको छ । टोलीले रारामा १ सय ४ प्रजातिका चरा फेला पारेको थियो ।

प्रकाशित : मंसिर १४, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा कोरोना खोप डिसेम्बर पहिलो साताभित्रै

नवीन पोखरेल

लन्डन — बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन् ।


एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन् । फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ । गत साता बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा खोप उपलब्ध गराउन एमएचआरएलाई भनिसकेको बताएका थिए । यद्यपि उक्त निकायले कहिलेसम्म अनुमति दिन्छ निश्चित छैन । बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

उक्त खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।

१५ वर्षदेखि एनएचएसमा कार्यरत हाल क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालका प्रमुख कार्यकारीले खोप तयारीबारे इमेल गरेको जनाए । ‘यो हामी सबैका लागि खुसीको खबर हो । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी क्रिसमस गिफ्टका रूपमा खोप पाइने भयो भनेर अत्यन्त उत्साहित छन्,’ उनले कान्तिपुरसँग भने, ‘साथीहरूमा यो कति सुरक्षित र प्रभावकारी छ भन्ने कौतूहल पनि देखिएको छ ।’

७२ वर्षको एनएचएस इतिहासमै ‘इमुनाइजेसन’ कार्यक्रम सबैभन्दा बृहत् हुन लागेको पौडेलले जनाए । साउथ वेस्ट लन्डनका चारमध्ये आफ्नो अस्पताल पनि खोप भण्डारण र वितरणका लागि चुनिएको जनाउँदै उनले सरकारको निर्देशिकाअनुसार जोखिममा रहेका र वृद्धवृद्धालाई वितरण गर्ने तयारी रहेको बताए ।

क्रोयडन नेपाली समाजका अध्यक्ष उनी यसबाट नेपाली समुदाय पनि लाभान्वित हुने आशा व्यक्त गर्छन् । पौडेलले महामारी सुरु भएपछि आफ्नो अस्पतालले करिब १३ सय कोभिड बिरामीलाई उपचार गरेको समेत जानकारी दिए ।

लन्डनस्थित क्विन एलिजाबेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलास कैनीले पनि भ्याक्सिनसम्बन्धी काम गर्न निर्देशक र कर्मचारी नियुक्त भइसकेको बताए । भ्याक्सिन लगाउने ठाउँ, भ्याक्सिन लगाइदिने व्यक्ति, भ्याक्सिन गर्ने भण्डारण व्यवस्था आदिको समेत तयारी भइरहेको उनले जानकारी दिए ।

‘यो समाचारले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी मात्रै होइन, सबै बेलायतवासी हर्षित भएका छन्,’ उनले भने, ‘कोभिडविरुद्धको यो एकदम ठूलो सफलता र कदम हो ।’ बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल कोरोना विश्व महामारी भएकाले खोप बनिसकेपछि नेपालमा समेत उपलब्ध हुन खासै ढिलाइ देख्दैनन् । अहिले खोप उत्पादनमा होडबाजी देखिए पनि बेलायत, अमेरिकाजस्ता विकसित देशले आफ्ना वैज्ञानिक सल्लाहकारहरूको सल्लाहमा मात्र खरिद गर्ने उनी बताउँछन् । ‘सुरुमा जोखिममा रहेका वृद्धवृद्धा, त्यसपछि स्वास्थ्यकर्मी र युवालाई खोप दिने गरी प्राथमिकता छुट्ट्याउनुपर्छ,’ उनले भने ।

प्रकाशित : मंसिर १४, २०७७ १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×