सोरुमा पठनपाठन सुरु गर्ने तयारी, शिक्षकलाई विद्यालय पुग्‍न निर्देशन- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोरुमा पठनपाठन सुरु गर्ने तयारी, शिक्षकलाई विद्यालय पुग्‍न निर्देशन

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले आइतबारसम्म अनिवार्य रुपमा विद्यालयमा हाजिर हुन शिक्षकहरुलाई निर्देशन दिएको छ । कोरोनाको कारण चैतदेखि बन्द रहेका विद्यालय खोल्ने निर्णय गर्दै शिक्षकहरुलाई यस्तो निर्देशन दिइएको हो ।

गाउँपालिकामा करिब २ सय २० जना शिक्षक रहेका छन् । सबै शिक्षकलाई आइतबारसम्म हाजिर हुन निर्देशन दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले बताए ।

उनका अनुसार गाउँपालिकामा रहेका ५२ वटै विद्यालयका शिक्षकलाई विद्यालयमा हाजिर भएर सुरक्षा सावधानी अपनाउँदै पठनपाठनको लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । ‘कुन दिनदेखि पठनपाठन सुरु गर्ने भन्नेबारे कार्यपालिकाले निर्णय गर्नेछ,’ उनले भने, ‘तर हामीले बाहिर रहेका शिक्षकलाई तयारी अवस्थामा रहनको लागि यस्तो सूचना गरेका हौं ।’

यहाँको मुगुमकार्मारोङ गाउँपालिकाभित्र रहेका १८ वटा विद्यालय दसैंअगाडि नै खुलिसकेका छन् । ती विद्यालयले एक महिनासम्म पठनपाठन गरे पनि जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । छायाँनागरारा नगरपालिका र खत्याड गाउँपालिकाभित्रका विद्यालय भने चैतदेखि बन्द रहेका छन् । छायाँनाथरारा नगरपालिकाले भदौदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने गर्न सकेको छैन । शिक्षकहरु विद्यालयमा गएर हाजिर लगाएर फर्किने गरेका छन् ।

मुगुमा करिब १६ हजार विद्यार्थी रहेका छन् । पठनपाठन ठप्प हुँदा शैक्षिक क्यालेन्डर नै प्रभावित हुने अवस्था देखिएको सर्वोदय माध्यमिक विद्यालय सुकाढिकका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णकु्मार निरौला भने जोखिमको समयमा विद्यालय सञ्चालन गरिए त्यसको जिम्मेवारी स्वयं स्थानीय तहले लिनुपर्ने बताउँछन् ।

प्रकाशित : मंसिर ६, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

पाण्डेमाथि सुनियोजित रूपमा अभद्र व्यवहार : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना गरेका छन् । 

नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरेका छन् ।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’

नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेको आरोप छ । नेकपामा दुई समूहबीच विवाद बढेकैबेला त्यसको असर जिल्लामा पनि देखिन थालेको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×