कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हुम्लाको शैक्षिक सत्र स्थगित, जिल्ला प्रवेशमा रोक

विगत वर्षमा फागुनमा सुरु भएर कात्तिकमा शैक्षिक सत्र सकिन्थ्यो ।
छपाल लामा

हुम्ला — कोरोना संक्रमितको संख्या बढेपछि हुम्लाको शैक्षिक सत्र स्थगित भएको छ । बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्दै जिल्ला प्रवेशमा रोक लगाएको हो ।

नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो । लामो समयको लकडाउनपछि हुम्लाका विद्यालयहरु कात्तिक दोस्रो साताबाट खुलेका थिए ।

अत्यधिक चिसो हुने भएकाले विगत वर्षमा फागुनमा सुरु भएर कात्तिकमा शैक्षिक सत्र सकिन्थ्यो । तर लकडाउनका कारण बन्द हुने समयमै जिल्लाका विद्यालयहरु खुलेका थिए । संक्रमितहरु बढेपछि केन्द्रको बैठकले सातवटै गाउँपालिकाका मुख्य नाकामा चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको छ ।

नाम्खा र सिमकोट गाउँपालिकामा बाहिरका मानिस आउन नदिन ३ दिनका लागि नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीले बताए । उनका अनुसार नाम्खा गाउँपालिकाको यालबाङमा ४ दिनको अवधिमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

उनले नाम्खामा संक्रमणको दर उच्च रहेको जानकारी दिए । ‘सबै स्थानीय तहसँग समन्वय गरेर स्वाब संकलन र परीक्षणको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘७ वटै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङलाई पनि तीव्रता दिइएको छ ।’ लक्षणसहितका कोरोना संक्रमितलाई बाहिरका अस्पतालमा पठाउन प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको बताए ।

केन्द्रको बैठकले जिल्ला अस्पतालका २ भेन्टिलेटर अपुग भएपछि थप माग गर्ने, सिमकोट गाउँपालिकाले जिल्लास्तरीय क्वारेन्टाइनको व्यवस्था गर्ने, प्रत्येक गाउँपालिकामा ५ शय्याको आइसोलेसन र १५ बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । नेपालगन्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

प्रकाशित : मंसिर ४, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?