भेरीमा ६ वर्षदेखि जलयात्रा अलपत्र

भीमबहादुर सिंह

जाजरकोट — प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्‍याप्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्‍याप्टिङ सञ्चालन गर्ने गरी सुरु गरिएको थियो ।

भेरीमा ६ वर्षदेखि जलयात्रा अलपत्र

पूर्वाधार निर्माणबिनै हचुवामा सुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीय राजु शर्माले बताए । ‘जलयात्रा सञ्चालन नहुँदा जिल्लाको पर्यटन प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘भेरी नदी आसपासका क्षेत्रमा आर्थिक गतिविधि सुनसान छ ।’

नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि, सुर्खेतले जलयात्रा सुरु गरेको थियो । एडभेञ्चरले दुइटा डुंगा ल्याएर नदीमा जलयात्रा सुरु गरे पनि दीगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए । ‘अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम छ,’ उनले भने, ‘जलयात्रा सुचारु गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो ।’ उनका अनुसार भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न २ घण्टा समय लाग्ने गरेको छ । पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार गम्भीर नभएको उनको आरोप छ ।

अर्का व्यवसायी गोपी वुढाले भेरी नदीमा डोल्पाको दुनैदेखि बर्दियासम्म सहजरुपमा जलयात्रा गर्न सकिने बताए । उनका अनुसार पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको हो । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित : मंसिर ३, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?