मुगु र हुम्लामा हिमपात

राजबहादुर शाही

मुगु — मुगु र हुम्लाका उच्च हिमाली बस्तीमा यो वर्ष मंसिरमै हिमपात भएको छ । सोमबार मुगुको रारा, मुर्मा, ताल्चा, चुचुमारेलेक, घुच्चीडाब, बाम, चंखेलीलेक, मुगु, डोल्फु, छायानाथ, ऋणीमक्षलेकलगायत क्षेत्रमा करिब ३ इन्च हिउँ परेको हो । हिमपात भएपछि हुम्लाका डाँडाकाँडासमेत सेताम्मे बनेका छन् । 

मुगु र हुम्लामा हिमपात

सोरु गाउँपालिका–२, जडेपानीका राजेन्द्रबहादुर शाहीले हिमपात भएपछि तिहार रमाइलो बनेको बताए । उनले सोमबार दिनभर तिहार मनाउन माइतीमा आएका चेलीहरुसँग हिउँ खेलेर रमाएको जनाए । ‘अहिलेसम्म मंसिरमा हिउँ परेको अनुभव गरेको थिएन,’ उनले भने, ‘चाडबाडको समयमै हिमपात हुँदा परिवार र साथीभाइसँग रमाइलो गरियो ।’

उनीमात्र होइन, रारा विमानस्थलमा हिमपात भएपछि सदरमुकाम गमगढीका व्यवसायी र कर्मचारीसमेत रमाए । गत भदौदेखि सुख्खा देखिएको मुगुमा हिउँ परेपछि जताततै रमाइलो बनेको ताल्चाका बाँचे महतराले बताए । उनका अनुसार हिउँ परेपछि रारा घुम्न आएका पर्यटकसमेत रमाएका छन् । ‘केही वर्षयता मंसिरमै हिउँ पर्न थाल्यो,’ उनले भने, ‘अब रारा घुम्न आउने पर्यटक बढ्ने अपेक्षा छ ।’ उनका अनुसार यो वर्ष भारी हिमपात हुने स्थानीयवासीको अनुमान छ । उनले औंलतिरका बस्तीहरुमा पनि भारी वर्षा भएको जानकारी दिए ।


प्रकाशित : मंसिर २, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?