कोरोनाका कारण रोजगारी गुमाएकालाई पुन:नियुक्ति- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका कारण रोजगारी गुमाएकालाई पुन:नियुक्ति

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले कोरोनाको कारण देखाउँदै हटाइएका शिक्षक र कर्मचारीलाई पुन:नियुक्ति दिएको छ ।

नगरपालिकाले करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक र कर्मचारीलाई फेरि नियुक्ति दिएको हो । उनीहरुले ८ महिनापछि नियुक्ति पाएका हुन् ।

नगरपालिकाले नियुक्त गरेका शिक्षक तथा कर्मचारीको करार सम्झौता गत वैशाखमा रद्द गरेको थियो । नगरपालिकाले राजश्व बाँडफाँड शिर्षकबाट आउनुपर्ने बजेट नआएको र विद्यालयसमेत बन्द रहेको भन्दै १ सय ६६ जना शिक्षक, कर्मचारीहरुलाई हटाएको थियो ।

सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नविकरण गर्ने नगर शिक्षा समितिको असोज ३० गतेको निर्णयलाई कात्तिक १ गतेको ५३ औं नगर कार्यपालिका बैठकले पारित गरेको हो ।

बैठकले सहिद स्मृति नमुना माध्यामिक विद्यालयमा कार्यरत ५ जना शिक्षक, कर्मचारीको करार सम्झौता पनि थप गरेको छ । उनीहरुको असोज २१ गते र अन्य डेढ सय शिक्षक र कर्मचारीको कात्तिक १ गते देखि लागू हुने गरी करार सम्झौता नविकरण भएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

कार्यसम्पादन मूल्यांकन कमजोर भएका केही शिक्षक र कर्मचारीलाई हटाइएको उनले जानकारी दिए । उनका अनुसार नियुक्ति दिइएका १ सय ४५ जना शिक्षकलाई आन्तरिक स्रोतबाट तलब दिने गरी पुन:नियुक्त गरिएको हो ।

प्रकाशित : मंसिर २, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

विप्लव महर्जन

सल्यान — त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो ।

त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा पिमखोलाको गिट्टीबालुवा निकालेर क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ भने कालीमाटी र बन्गाडकुपिण्डेमा सडक निर्माण गरिरहेका ठेकेदारले जथाभावी गिट्टी उत्पादन गरिरहेका छन् ।

कालीमाटी र बन्गाडमा दर्ता नै नगरी उद्योग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । ‘निश्चित अवधिमा मापदण्ड पूरा नगरे उद्योग सिल गरिनेछ,’ उनले भने, ‘वातावरण परीक्षण नै नगरी बस्तीदेखि एक किलोमिटरभित्रको दूरीमा उद्योग सञ्चालन भएको भेटियो ।’

बन्गाडकुपिण्डेमा विशाल निर्माण सेवा र कालिमाटीको रामपुरमा तुल्सीपुर– पुरन्धारा हुँदै सुर्खेतसम्म सडक स्तरोन्नतिको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले क्रसर उद्योग सञ्चालन गरिरहेको छ ।

रिखेबजारको पिमखोलामा बालुवा प्रशोधन उद्योगले बालुवा उत्पादनका नाममा गिट्टीढुंगा बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको डिभिजन वन प्रमुख रेशम गिरीले बताए ।

प्रकाशित : मंसिर २, २०७७ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×