२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सल्यानमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

विप्लव महर्जन

सल्यान — त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

सल्यानमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो ।

त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा पिमखोलाको गिट्टीबालुवा निकालेर क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ भने कालीमाटी र बन्गाडकुपिण्डेमा सडक निर्माण गरिरहेका ठेकेदारले जथाभावी गिट्टी उत्पादन गरिरहेका छन् ।

कालीमाटी र बन्गाडमा दर्ता नै नगरी उद्योग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । ‘निश्चित अवधिमा मापदण्ड पूरा नगरे उद्योग सिल गरिनेछ,’ उनले भने, ‘वातावरण परीक्षण नै नगरी बस्तीदेखि एक किलोमिटरभित्रको दूरीमा उद्योग सञ्चालन भएको भेटियो ।’

बन्गाडकुपिण्डेमा विशाल निर्माण सेवा र कालिमाटीको रामपुरमा तुल्सीपुर– पुरन्धारा हुँदै सुर्खेतसम्म सडक स्तरोन्नतिको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले क्रसर उद्योग सञ्चालन गरिरहेको छ ।

रिखेबजारको पिमखोलामा बालुवा प्रशोधन उद्योगले बालुवा उत्पादनका नाममा गिट्टीढुंगा बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको डिभिजन वन प्रमुख रेशम गिरीले बताए ।

प्रकाशित : मंसिर २, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?