१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

वीरेन्द्रनगरको मुहार फेर्ने भनिएको सडक निर्माणकार्य सुस्त

चाँदनी कठायत

वीरेन्द्रनगर — प्रदेश राजधानी वीरेन्द्रनगरको मुहार फेर्ने ठानिएका महत्वपूर्ण सडकहरु निर्माणमा ढिलाइ हुँदा स्थानीयले झन् सास्ती भोगिरहेका छन् । निर्माणकार्यले गति नलिँदा जताततै धुलो हुनुका साथै सडक आवागमनमा समेत अवरोध हुने गरेको छ ।

वीरेन्द्रनगरको मुहार फेर्ने भनिएको सडक निर्माणकार्य सुस्त

मंगलगढी चोकदेखि लाटीकोइलीसम्मको जीर्ण सडकमा अहिले नाला बनाउने र कालोपत्रेको काम भइरहेको छ । नगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रहेको सडकमा १ हजार २ सय मिटर नाला बनाउन श्याम एण्ड शंकर कन्स्ट्रक्सनले २ करोड रुपैयाँमा सम्झौता गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सकिनुपर्ने उक्त काम विभिन्न कारणले प्रभावित भएको थियो । विद्युत्का पोल सार्न ढिलाइ भएपछि कामै ठप्प भएको श्याम एण्ड शंकर जेभीका प्रवन्धक निर्देशक पदमबहादुर खड्काले बताए ।

‘विद्युत प्राधिकरणले नयाँ पोल गाडेर पुराना पोल हटाएको छैन,’ उनले भने, ‘एक त लकडाउनले काम पछाडि सर्‍यो त्यसैमाथि पोल नहट्दा काम रोकिएको छ ।’ सडकको दुवैतर्फ पोल गाडिएको भन्दै उनले ३५ भन्दा बढी पुराना पोलले गर्दा काममा बाधा पुगेको बताए । ‘कहिले काम हुने र कहिले नहुने भइरहेको छ,’ उनले भने, ‘लाइन लेभल क्लियर नभएसम्म कामलाई तीव्रता दिन सकिँदैन ।’ नाला निर्माणको करिब ७० प्रतिशत काम सकिएको उनले जानकारी दिए । विभिन्न कारणले काम अलपत्र पर्दै आएको यो सडक निर्माण भए कर्णालीको प्रमुख धार्मिक पर्यटकीय स्थल काँक्रेविहारमा जाने पर्यटकले सुविधा पाउनेछन् ।

वीरेन्द्रनगरमा निर्माणाधीन अन्य सडकमा पनि कामले तीव्रता लिन सकेको छैन । नगर गौरवको योजनाअन्तर्गत रहेको हटलाइन हरियाली (कालुङचोक–कटकुवा अस्पताल–गणेशचोक) सडक पनि निर्माणाधीन छ । ०७५ असोज १ मा श्याम एण्ड शंकर कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको उक्त सडकको अहिले नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नालासहित ७ मिटर चौडामा निर्माण भइरहेको हटलाइन सडकको केही दिनमा कालोपत्रेको काम सुरु हुने संघीय सरकारअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, सुर्खेतका इन्जिनियर टिकाराम पोख्रेलले बताए । ‘नालाको कभर स्ल्याप हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘१/२ दिनभित्रै पिचको काम सुरु हुन्छ ।’ आगामी पुस १३ गतेसम्म निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने सडकको लागि निर्माण कम्पनीले ७ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको छ ।

ठूला सडकअन्तर्गतकै अर्को सडक हो, वीरेन्द्रनगरको शिवालयचोक–इत्राम स्कुल–टेलिकम–अख्तियार कार्यालय हुँदै घण्टाघर चोकदेखि नेकपा पार्टी कार्यालय–शिक्षा क्याम्पससम्मको सडक । यो सडक निर्माणको जिम्मा पनि श्याम एण्ड शंकर कन्स्ट्रक्सनले लिएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सकिसक्नुपर्ने उक्त सडक निर्माणका लागि निर्माण कम्पनीसँग प्रदेश सरकारले ९ करोड रुपैयाँमा सम्झौता गरेको छ ।

त्यसैगरी बुद्धपथचोक–सामाजिक विकास मन्त्रालय–प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री निवाससम्मका भित्री सडकहरुको निर्माण पनि तीव्र बनाइएको छ । सोही निर्माण कम्पनीले जिम्मा लिएको सडकको लागत पनि ९ करोड रुपैयाँ नै हो । उक्त सडकमा नाला निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक खड्काकाले बताए । उनले आफ्नो जिम्मामा रहेका नगरभित्रका ठूला सडकहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्ने बताए । ‘मंगलगढी–लाटीकोइली सडकबाहेक अन्य सडकमा खासै वाधा देखिएको छैन,’ उनले भने, ‘त्यसैले तोकिएको समयभन्दा अगाडि नै सबै सडकको काम सक्नेगरी हामी लागेका छौँ ।’

वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत गत आर्थिक वर्ष बजेट विनियोजन भई खर्च हुन नसकेका र केही रकम खर्च भइ काम नभएका २७ वटा सडकको काम यो वर्ष भइरहेको छ । चालु आवको ४ महिनामा करिब ३५ सय मिटर सडक कालोपत्रे भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक स्रोतका साथै प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट सडक स्तरोन्नतिका लागि विभिन्न निर्माण कम्पनीसँग करिब ६ करोड रुपैयाँमा सम्झौता गरेको छ ।

चालु आर्थिक वर्षमा पूर्वाधार विकासतर्फ ९ करोड २९ लाख बजेट विनियोजन गरेको नगरपालिकाले वडास्तरीय सडक योजनाका लागि मात्रै ८ करोड ४३ लाख ६ हजार रुपैयाँ छुट्याएको छ । नगरपालिकाले क्रमागत भएका नगर महत्वका सडक, पाँचौ नगरसभाबाट स्वीकृत वडा गौरवका (बोलपत्र भएका) सडक र छैंठौ नगरसभाबाट अघि बढाइएका सडकका लागि ७ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी चालु आवका विभिन्न शीर्षकबाट रकमान्तरण तथा टेन्डरबाट घटेको रकमबाट छुट्याइएको सडक योजनामा ६२ लाख ८५ हजार र पाँचौ नगरसभाको पुस्तिकाभित्रका सडक योजना (संशोधनसहित) तर्फ ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पनि राजधानी सहर वीरेन्द्रनगरभित्रका सडक मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको छ । चालु आवभित्र मात्रै प्रदेश सरकारले करिब ४ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । भौतिक पूर्वाधार विकास निर्देशनालयका प्रमुख वासुदेव पौड्यालले करिब ८० प्रतिशत सडकको काम चालु आवमा सकिने बताए । उनका अनुसार अहिले प्रदेश सरकारले पनि गत वर्ष टेन्डर भइ दायित्व सरेका सडक योजनाको काम गरिरहेको छ । रानीघाट–तेलपानी भुरीगाउँ, रत्नराजमार्गदेखि गढीमार्गसम्म, रत्नराजमार्गदेखि प्रदेश अस्पतालसम्मको, वीरेन्द्रनगर साइकल ट्रयाकलगायत मुख्य सडकको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

चालु आवमा नयाँ टेन्डर भएको वीरेन्द्रनगर–३, सरस्वती टोलस्थित मयुरमार्गमा मुख्य सडकदेखि २ सय २० मिटर अपांगमैत्री सडक कालोपत्रे हुँदैछ । यस्तै, कर्णाली प्रदेश ट्राफिक कार्यालयदेखि श्रीकृष्ण माविसम्म जाने सडकको मिलनटावर हुँदै इत्राम मूल सडक निस्कने बाटो र कर्णाली राजमार्गको सहकारी चोकबाट ठौरी जाने बाटोको कटकुवादेखि मझगाउँबाट ठौरी जाने सडक पनि स्तरोन्नति हुनेछ । नयाँ ठेक्का सम्झौता भएको यी तीन सडकका लागि प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत वर्षका क्रमागत सडक योजनाका लागि १२ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

यस्ता बन्दैछन् सडक

वातावरणीय सुरक्षालाई पनि ध्यान दिँदै सडक स्तरोन्नतिको काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सम्बन्धित सडकका लागि छुट्याएको ५ प्रतिशत बजेट वातावरणीय सुरक्षामा खर्च गर्ने नीतिगत निर्णय लिइएको हो ।

नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले आवश्यकताअनुसार नगरभित्रका सडकहरुमा नाला निर्माण गरिरहेको बताए । उनका अनुसार मंगलगढी चोकमा ठूलो ढल निकास हुन सक्ने खालको ठूलो आकारको नाला बनाइएको छ । नगरका भित्री सडकमा आरसीसी, प्लम्ब कंक्रिट, स्टोन मेसिनरी र ब्रीकको प्रयोग गरी पनि नाला बनाइरहेको उनले जानकारी दिए । नगरपालिकाका अनुसार हरियाली सडकलाई ध्यानमा राखी हरेक सडकमा फरकफरक विरुवा रोप्ने काम पनि भइरहेको बताए । निर्माण सम्पन्न भइसकेको फोरलेन सडकमा पनि विरुवाहरु रोप्न नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको अधिकारीले बताए ।

चक्रपथमा विवाद सुल्झिँदै

विवादबीच निर्माण भइरहेको वीरेन्द्रनगर चक्रपथको काम पनि भइरहेको छ । चक्रपथको अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

२९ किलोमिटर चक्रपथको अहिलेसम्म १० किलोमिटर काम सकिएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए । थप ५ किलोमिटर सडक काट्ने काम पनि सुरु भएको उनको भनाइ छ । स्थानीयले जग्गा दिन नमानेपछि विवाद भएको थियो । यद्यपि अहिले विवाद सल्ट्याउँदै चक्रपथको काम अघि बढेको उनले बताए । गत वर्ष चैतमा सम्पन्न हुनुपर्ने चक्रपथको काम नसकिएपछि म्याद थप भएको छ । आगामी माघसम्म म्याद थप भए पनि कोरोनाका कारण काम पछाडि धकेलिएको भट्टले बताए ।

०७५ चैतदेखि सुरु भएको चक्रपथ निर्माणको जिम्मा खड्का/कृष्ण/द क्याराभान जेभीले लिएको छ । चक्रपथका लागि १३ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । चक्रपथ निर्माण हुने क्षेत्रअन्तर्गत करिब १८ किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । सडक विभागको मापदण्ड अनुसार १५ मिटर चौडाइमा ग्राभेल नियमित रुपमा गर्ने भनिए पनि सबै ठाउँमा स्थानीयले जग्गा नदिँदा कामले गति लिन नसकेको हो ।

फोरलेनमा ५ पुल बन्दै

संघीय सरकार मातहतमा काम भइरहेको वीरेन्द्रनगरको फोरलेन सडकको विभिन्न ५ स्थानमा पुलहरु बनिरहेका छन् । धुलियाबिट–बांगेसिमलअन्तर्गत फोरलेन सडकमा पायल प्रविधिबाट बनिरहेका पुलको काम तीव्र बनाइएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार ३ पुलहरुको काम अन्तिम चरणमा पुगेको छ । खोर्केलाइनखोला पुलको काम भर्खरै सुरु भएको छ भने इत्रामखोला पुलको काम आधा सम्पन्न भएको कार्यालयले जनाएको छ । गाग्रेखोला, नेवारेखोला र ढोडेखाली पुलको काम अन्तिम चरणमा पुगेको कार्यालयकी इन्जिनियर सजना पोखरेलले बताइन् । ०७५ असारमा सपना/आशिष/श्याम एण्ड शंकर जेभीले ३७ करोड ६१ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो । सबै पुलहरुको काम आगामी माघ ११ गते सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?