कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा स्वाब परीक्षण न्यून

शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको छ
चाँदनी कठायत

वीरेन्द्रनगर — पछिल्लो समय कर्णालीमा कन्टयाक्ट ट्रेसिङका माध्यमबाट पीसीआर परीक्षण कार्य रोकिएको छ । चिकित्सकको सिफारिसमा स्वाब परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्यामा पनि कमी देखिन थालेको छ ।

कर्णालीमा स्वाब परीक्षण न्यून

दसैंपछि हालसम्म कर्णालीका विभिन्न प्रयोगशालाबाट २ हजार ९ सय १६ जनाको मात्र स्वाब परीक्षण भएको छ । कात्तिक ११ गते कर्णालीका चारवटै प्रयोगशालामा एक जनाको पनि स्वाब परीक्षण भएन । कात्तिक ९ र १२ गते पनि दैलेखस्थित प्रयोगशालाबाहेक अन्यमा परीक्षण शून्य रह्यो । कात्तिक १६ गते पनि दैलेख र रुकुमबाहेक अन्य प्रयोगशालामा परीक्षण नभएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत आइतबार पनि कर्णालीका ३ वटा प्रयोगशालामा परीक्षण भएन ।

कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा स्वाब परीक्षण हुने गरेको छ । सरकारले शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । उनका अनुसार स्वाब परीक्षणका लागि व्यक्तिहरू पनि कम आउने गरेका छन् । ‘पहिला समुदायमै गएर स्वाब संकलन गथ्र्यौं,’ उनले भने, ‘सरकारले अहिले डाक्टरको सिफारिसपछि मात्रै स्वाब परीक्षण गर्ने भनेकाले यो काम पनि प्रभावित भयो ।’ उनले पछिल्लो समय कन्टयाक्ट ट्ेरसिङ पनि नभएको बताए ।

स्वाब संकलन कम भएका कारण परीक्षण पनि घटेको निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले बताए । उनले प्रदेश अस्पतालको प्रयोगशालामा थोरै परीक्षण गर्दा खर्च बढी हुने भएकाले पनि कुनै दिन परीक्षण नै नगरिएको जानकारी दिए । कर्णालीमा सोमबारसम्म ८९ हजार ९ सय ३५ स्वाब परीक्षण गरिएको छ । सबैभन्दा धेरै सुर्खेतमा ४६ हजार ३ सय १६, जुम्लामा २७ हजार ३ सय १८, रुकुम पश्चिममा ९ हजार ६ सय २९ र दैलेखमा ६ हजार ५ सय ८३ स्वाब परीक्षण भएको हो ।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर अन्य प्रदेशभन्दा न्यून छ । अहिलेसम्म ६ हजार २ सय ६८ संक्रमित रहेको कर्णालीमा १६ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ५ हजार ६ सय १ जना निको भएर घर फर्किएका छन् । निर्देशनालयका अनुसार संक्रमितमध्ये कर्णालीमा ०.००२५ प्रतिशतको मात्रै मृत्यु भएको छ । अहिले कर्णालीका विभिन्न आइसोलेसनमा ६ सय २६ जना संक्रमित भर्ना गरिएका छन् । कोरोना महामारी सुरु भएपछि प्रदेश सरकारले १० वटै जिल्लामा स्वास्थ्य पूर्वाधारमा गरेको सुधारले पनि संक्रमितको उपचारमा सजिलो भएको हो ।

प्रकाशित : कार्तिक २५, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?