चार महिनापछि छत्रेश्वरीको बजेट पारित

विप्लव महर्जन

सल्यान — आर्थिक वर्ष सुरु भएको चार महिनापछि छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । गत असार १० गतेको आठौं गाउँसभामा जनप्रतिनिधिबीच विवाद भएपछि लामो समयदेखि बजेट पारित हुन सकेको थिएन् ।

चार महिनापछि छत्रेश्वरीको बजेट पारित

करारमा भर्ना गरेका कर्मचारीको म्याद नथप्न भन्दै नेकपाका जनप्रतिनिधिले विरोध जनाएपछि गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुतलगत्तै विवाद भएको थियो । त्यसयता कांग्रेस र नेकपाका जनप्रतिनिधिबीच सहमति नहुँदा बजेट पारित हुन सकेको थिएन । करारमा भर्ना गरेका शिक्षकको तलब–सुबिधाका लागि अनुदान कार्यविधि कार्यान्वयन गर्ने र केही करारका कर्मचारी हटाउने सहमति भएपछि ४५ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको हो । गाउँपालिका अध्यक्ष सन्तोष केसीका अनुसार यस वर्षको बजेटमा स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाका अनुसार संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गतको ९ करोड १९ लाख, सशर्त अनुदानको १८ करोड २३ लाख, राजश्व बाँडफाँडको ७ करोड २९ र विशेष अनुदानको ३ करोड रुपैयाँ पारित भएको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरणमार्फत प्राप्त ३ करोड ४५ लाखको बजेट पनि पारित गरिएको गाउँपालिकाले जनाएको छ । बजेट पेश गर्दै गाउँपालिका उपाध्यक्ष सीता केसीले सबै वडामा स्वास्थ्य सेवा र एम्बुलेन्स पुर्‍याउन ४५ लाख रुपैयाँ विनियोजन गरिएको बताइन् ।

प्रकाशित : कार्तिक २१, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?