कर्णाली राजमार्ग : ५ वर्ष पनि टिकेन कालोपत्रे- कर्णाली - कान्तिपुर समाचार

कर्णाली राजमार्ग : ५ वर्ष पनि टिकेन कालोपत्रे

५ पुल अझै अधुरा
तुलाराम पाण्डे

कालीकोट — कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे ५ वर्षमै उप्किएको छ । अधिकांश ठाउँमा कालोपत्रे उप्किएपछि  दुर्घटनाको जोखिम बढेको छ भने यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

२०६३ चैत्रमा ट्रयाक खोलिएको राजमार्ग विश्व बैंकको सहयोगमा ०७२ सालमा ओटासिल कालोपत्रे गरिएको थियो । कालीकोटकै बासिन्दा महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएको बेला पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन नसक्नु दु:खद भएको ‘सुन्दर र समृद्ध कालीकोट’का अभियन्ता भुपेन्द्रजंग शाहीले बताए ।

‘ट्रयाक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था उस्तै छ,’ कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले भने, ‘सडक दुई लेनको बनाउन सके मात्रै पनि कर्णालीको धेरै विकास हुन्थ्यो ।’

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बस चालक जीवन केसीले बताए । साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे ।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । खाल्डाखुल्डी पुर्ने र पहिरो हटाएर यातायात सुचारु गर्ने बजेट मात्र आउने गरेकाले स्तरोन्नति गर्न नसकिएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । ‘वर्षामा पहिरो हटाउनै ठिक्क हुन्छ,’ उनले भने, ‘थोरै बजेटले कहाँकहाँ भ्याउनु ?’ उनका अनुसार यस वर्ष राजमार्गको पहिरो हटाउन डोजरलाई २८ दिन लागेको थियो ।

तर राजमार्गमा आएको पनि खर्च गर्न नसकेर फ्रिज पठाउने पुरानै प्रवृत्ति कायमै छ । दैलेखदेखि कालीकोटको दहीखोलासम्म १ सय ३२, दहीखोलादेखि जुम्ला खलंगासम्म १ सय ३६ र ९४ किलोमिटर नाग्मा–गमगढी सडक डिभिजन कार्यालयले हेर्दै आएको छ । कार्यालयमा गत वर्ष आएको नाग्म–गमगढी सडकको ३८ करोड रुपैयाँ फ्रिज भएको थियो ।

सडकमा गतवर्ष ५० करोड रुपैयाँ विनियोजन भएकोमा लकडाउन र ढिलो टेण्डर भएकोले १२ करोड मात्र खर्च भएको थियो । यस वर्ष स्वीकृत भएको ९ करोड बजेट खर्च भइसकेको डिभिजन प्रमुख भण्डारीले बताए । उनका अनुसार नाग्मा–गमगढी खण्डमा ग्राभेल गर्न थप २२ करोड रुपैयाँ आवश्यक छ ।

विश्व बैंकको सहयोगमा सुर्खेतबाट खिड्कीज्यूलासम्म १ सय १८ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्यूला–जुम्ला सडकमा दोस्रो चरणमा कालोपत्रे भएको हो । ०७२ को अन्तिममा कालोपत्रे सकिएकोमा अधिकांश ठाउँमा उप्किए पनि वर्षेनि सडक टालटुल पार्ने काम मात्र भइरहेको स्थानीय कमल शर्माले बताए । उनका अनुसार सडक मर्मतको नाममा असार लागेपछि केही ठाउँमा टालटुल पारिन्छ । ‘गुणस्तरहीन काम हुँदा पनि सडक जीर्ण बनेको हो,’ उनले भने, ‘केही ठाउँमा त एक वर्ष पनि कालोपत्रे टिकेन ।’

राजमार्गमा वर्षमा मुस्किलले ९ महिना जुम्लासम्म सवारी साधन गुड्छन् । सडक जीर्ण बनेपछि राजमार्गमा दुर्घटनाको जोखिम पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म सुर्खेत–जुम्ला सडकखण्डमा १ सय ६३ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । अप्ठेरो सडकमा सेफ्टीबार र पर्खाल लगाएपछि दुर्घटनामा कमी आउन थालेको कार्यालयका इन्चार्ज हानसिंह भण्डारीले बताए ।

७ पुल अझै अधुरै

राजमार्गको दैलेख र कालीकोट खण्डका ७ पुलको निर्माण अझै पूरा नहुँदा यात्रुले वर्षेनि सास्ती भोगिरहेका छन् । डिभिजन सडक कार्यालयका अनुसार कालीकोटमा ३ र दैलेखमा ४ पुलको निर्माण अझै पूरा भएको छैन । दैलेखको पाल्तडामा खोला नै नभएको ठाउँमा पुुल बनेको छ ।


कर्णाली राजमार्गको जीतेभीर नजिकैको साघुँरो सडक । जहाँबाट कर्णाली करिडोर जाने बाटो छुटिन्छ । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

कालीकोटको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र परेको डिभिजन प्रमुख भण्डारीले बताए । उनका अनुसार दैलेखको घट्टेखोला, राकमखोला, जाक्सीखोला र सेरिघाटखोला पुल पनि ठेकेदारको लापरवाहीले अलपत्र परेका हुन् ।

सेरिघाटस्थित तिला नदीमा नेपाली सेनाको निर्माण कार्यदलले १५ वर्षअघि निर्माण गरेको बेलीब्रीज जीर्ण बनेको छ । १० वर्षसम्म प्रयोग गर्न मिल्ने भए पनि उक्त पुल विस्थापित नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुलको फलामे पाटपूर्जा खिया लागेर उप्किएको स्थानीय अगुवा अमरराज सार्कीले बताए । ‘साना सवारी साधन वारपार गर्दा पनि पुल हल्लिन्छ,’ उनले भने, ‘पुलमा मोटरसाइकल पनि डरैडरले चलाउनुपर्ने बाध्यता छ ।’ उनले पुलमा जडान गरिएका अधिकांश फलामे पाता र नट उप्किएको बताए ।

सुख्खा पहिरोले सास्ती

शुभकालिका–१, छाती भीरमुनिको गगनेखोलामा सधैं सुख्खा पहिरो जाँदा कर्णाली राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । सडकभन्दा माथि करिब १ किलोमिटर क्षेत्र बग्ने गरेकाले सडक अवरुद्ध हुने गरेको हो ।

सुख्खा पहिरो पन्छाउनै हैरान भएको डिभिजन प्रमुख भण्डारीले बताए । पर्याप्त बजेट नआउँदा गगनेखोलाको पहिरो रोक्न असफल भएको उनले गुनासो गरे । उनका अनुसार कालीकोटको सुनारखोला, मेयरखोला र गाल्जेमा पनि पहिरोले बढी दु:ख दिने गरेको छ ।

शाखा सडकले हैरानी

सुर्खेत–जुम्ला सडकसँग गाउँ जोड्न खनिएका शाखा सडकका कारण पनि कर्णाली राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । स्थानीय तहले निर्माण गरेका शाखा सडकका कारण दैलेख, कालीकोट र जुम्लाका १९ ठाउँमा सडक बिग्रिएको डिभिजन कार्यालयले जनाएको छ ।


कर्णाली राजमार्गको सेरिघाटस्थित तिलानदीमा १५ वर्षअघि निर्माण गरिएको बेलिब्रिज र सुस्त गतिमा निर्माण हुँदै गरेको पक्की पुुल । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

खाडाचक्रको मेग्र, ताडी, मोल्फा, पिली र चौखोलाबाट खनिएका सडकका कारण कर्णाली राजमार्गको कालोपत्रे उप्किएको स्थानीय युवा गोविन्द पाण्डेले बताए । उनका अनुसार तिलागुफाको गाल्जे, खल्ला, राचुली र भिग्मबाट खनिएका सडकको ढुंगामाटो पनि कर्णाली राजमार्गमा थुप्रिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीका स्थानीय तहमा धमाधम लकडाउन

कान्तिपुर संवाददाता

म्याग्दी — कोरोना भाइरस संक्रमण समुदायमा बढेपछि जिल्लाका स्थानीय तहले धमाधम मुख्य बजारहरू लकडाउन गर्न थालेका छन् ।

करिब ७ हजार जनसंख्या रहेको सदरमुकाम बेनीमा दसैंयता कम्तीमा २१ जनामा कोरोना संक्रमण भएको र एक वृद्धको मृत्युसमेत भएपछि नगरपालिकाको आग्रहमा स्थानीय प्रशासनले आउँदो शुक्रबारसम्म लकडाउन गरेको छ ।

सदरमुकामबाट ग्रामीण भेगमा संक्रमण फैलन थालेपछि बुधबार रातिदेखि मालिका गाउँपालिकाले आगामी मंगलबारसम्म गाउँपालिका केन्द्र रहेको पश्चिमको ठूलो व्यापारिक बजार दरबाङ्गमा लकडाउन गरेको छ । ‘साँघुरो क्षेत्र, घना बस्तीमा कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित भई लकडाउन गर्न दबाब आयो,’ मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘लकडाउन तिहारसम्मै लम्ब्याउनु उचित हुने ठानेका छौं ।’

अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगर, तातोपानी क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरिएको छ । म्याग्दी सदरमुकामसँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले पनि बुधबार मध्यरातदेखि आगामी मंगलबारसम्म लकडाउन गरेको छ । भौगोलिक रूपमा जलजला पर्वतमा पर्ने भए पनि यहाँका सबै व्यापारिक कारोबार बेनीमा हुने गर्छ ।

संक्रमण समुदायमा फैलिएपछि छिमेकी पर्वतको कुस्मा र बाग्लुङले पनि सदरमुकाम क्षेत्रमा लकडाउन गरेका छन् । मुस्ताङमा पनि सदरमुकाम जोमसोम क्षेत्रमा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार चिसो बढेको र हिमपात सुरु भएकाले संक्रमण बढ्ने डर छ । अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×