कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दैलेखमा किट अभावले कोरोना परीक्षणमा सास्ती, लक्षणसहितका संक्रमित बढे

ज्योति कटुवाल

दैलेख — स्वास्थ्य सेवा कार्यालयमा किट नहुँदा शंकास्पद बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न समस्या भएको छ ।

दैलेखमा किट अभावले कोरोना परीक्षणमा सास्ती, लक्षणसहितका संक्रमित बढे

दुई दिनभित्र किट नआए दैलेखको पीसीआर ल्याब नै ठप्प हुने कार्यालयले जनाएको छ ।

किट अभावका कारण स्वाब संकलन र परीक्षण दुवैमा समस्या भएको हो । स्वास्थ्य सेवा विभागबाट भदौमा ल्याइएका दुई हजार किट तीन साताअघि नै सकिएका थिए । किट सकिएपछि दसैंको समयमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट दुई सय थान किट ल्याइएको थियो ।

किट अभावका कारण कार्यालयले दैनिक १२ जनासम्मको मात्र स्वाब लिने गरेको हो । दैलेखमा पीसीआर प्रयोगशाला स्थापना भएपछि साउन र भदौ महिनामा दैनिक दुई सय जनासम्मको स्वाब संकलन र परीक्षण भएको थियो । असोज लागेलगत्तै किटको अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्तले बताए ।

उनका अनुसार अहिले लक्षण देखा परेका शंकास्पद बिरामीको मात्र स्वाब संकलन भइरहेको छ । ‘सुर्खेतमा पनि अभाव भएपछि हामीले प्रदेश सरकारबाट पर्याप्त किट पाउन नसकेका हौं,’ उनले भने, ‘स्थानीय तहले किट खरिदमा बेवास्ता गर्दा अभाव चुलिएको हो ।’ अहिले २५ वटा किट मात्र मौज्दात रहेको उनले जानकारी दिए ।

कोरोना संक्रमित बढेपछि दैलेखका चोकचोकमा जथाभावी स्वाब संकलन गर्दा किटको दुरुपयोग भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कतिपयको पहुँचका भरमा स्वाब संकलन गरिएको डा. पन्तले बताए । ‘गर्नुपर्नेले स्वाब नदिँदा र दिनु नपर्नेले दिँदा समस्या भएको हो,’ उनले भने, ‘किटकै अभावले दुर्गम गाउँमा स्वाब परीक्षणलाई तीव्रता दिन सकिएको छैन ।’

लक्षणसहितका संक्रमितहरु बढे

स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय दैलेखमा लक्षणसहितका संक्रमितहरु बढ्न थालेका छन् । तत्काल पीसीआर परीक्षण गरिएका संक्रमितहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने र सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएका छन् ।

लक्षणसहितका संक्रमित बढ्न थालेपछि जिल्ला अस्पतालको आइसोलेसन भरिभराउ भएको डा. पन्तले बताए । उनका अनुसार अहिले अस्पतालको आइसोलेसनमा २२ जनाको उपचार भइरहेको छ ।

शय्या अभावमा अन्य संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ । ‘उपकरण र स्वास्थ्यकर्मीको अभाव पनि उत्तिकै छ,’ उनले भने, ‘अक्सिजन बोक्ने गाडी नहुँदा लक्षण देखिएका बिरामीको ज्यान जोखिममा परेको छ ।’ स्वास्थ्य कार्यालयमा गाडी नहुँदा नेपालगन्जबाट अक्सिजन ल्याउन समस्या भएको उनले गुनासो गरे । अन्य कार्यालयको गाडी मागेर अक्सिजनको माग पूरा गरिरहेको उनी बताउँछन् ।

जिल्लाभरि अहिलेसम्म १ हजार ३ सय ८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ हजार २ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । आइसोलेसन अभावमा लक्षण देखिएका संक्रमितसमेत घरमा बसिरहेको स्थानीय बास्ना थापाले बताइन् ।

उनका अनुसार होम आइसोलेसनमा बस्नेका कारण गाउँमा पनि संक्रमणको जोखिम बढेको छ । कर्मचारीमा संक्रमण देखिएपछि नारायण नगरपालिकासहित वडा कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एक साताका लागि बन्द गरिएको छ ।

प्रकाशित : कार्तिक १७, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?