१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्री रोजगार कार्यक्रममा जुम्लाका १५ हजार सूचीकृत

रासस

जुम्ला — प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २ सय ५१ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष ०७७/०७८ का लागि जुम्लाका आठ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएका समयावधिभित्र फाराम भरेका व्यक्तिमाथि वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका व्यक्तिलाई इएमआइएसमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले जानकारी दिए ।

सूचीकृत बेरोजगारलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनका काममा लगाइने कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेले बताए । ‘ एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको थियो ।’ उनीहरुले प्रतिदिन रु ५१७ का दरले एक सय दिनको ज्याला पाउने प्रावधान रहेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारका लागि रुपान्तरण पहल आयोजनाका लागि यहाँका आठ वटै स्थानीय तहलाई रु ५१ लाखका दरले रकम विनियोजन भएको छ । गुठीचौर गाउँपालिका रोजगार संयोजक प्रेम शाहीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट आउन बाँकी नै छ । यस वर्ष विश्व बैंकको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करीब पाँच लाख रोजगारी सिर्जना गर्न रु ११ अर्बभन्दा बढी सरकारले विनियोजन गरेको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?