कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कर्णालीमा डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर

उपकरण खरिद र संरचना निर्माणमा साढे ३० करोड खर्च
चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो ६ महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्यस्तर सुधार र संरचनामा मात्र ३० करोड ५१ लख रुपैयाँ खर्च गरेको छ । डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरिएको छ ।

कर्णालीमा डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर

चैतसम्म कर्णालीका सुर्खेत, जुम्ला र दैलेखमा गरेर १७ आईसीयू र ७ भेन्टिलेटर थिए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले आईसीयूको संख्या ६२ र भेन्टिलेटरको संख्या २६ पुगेको छ । कोरोना संक्रमितको लागि २ हजार ९८ वटा आइसोलेसन बेड बनेका छन् । ‘संरचना र स्तरियताको हिसाबले कर्णालीको स्वास्थ्य क्षेत्र पहिल्यैदेखि निकै कमजोर रहेको छ,’ सामाजिक विकासमन्त्री दल रावल भन्छन्, ‘यस्तो अवस्थामा कोरोना जोखिम भित्रिएपछि सरकारले सावधानीसाथ स्वास्थ्यस्तर सुधारमा प्रगति गरेको छ ।’ कोरोनाकालमा दीर्घकालीन महत्वका स्वास्थ्य संरचना तयार भएका उनले बताए । डोल्पामा समेत निकट भविष्यमै आईसीयू सुरु गर्ने मन्त्रालयको तयारी छ ।

कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदमा प्रदेशका १७ अस्पताललाई संघ र प्रदेश सरकारबाट झण्डै ३० करोड ५९ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश अस्पताललाई १० करोड ५७ लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ करोड २५ लाख, चौरजहारी सामुदायिक अस्पताललाई १ करोड ५० लाख उपलब्ध गराएको छ ।

जिल्लास्थित जनस्वास्थ्य तथा स्वास्थ्य सेवा कार्यालयमध्ये सुर्खेतलाई १ करोड २६ लाख, दैलेखलाई १ करोड ९५ लाख, कालीकोटलाई ४३ लाख, जुम्लालाई ४३ लाख, हुम्लालाई ७१ लाख, मुगुलाई ८७ लाख र डोल्पालाई ५५ लाख रुपैयाँ दिइएको मन्त्रालयका तथ्यांक अधिकृत विनोद आचार्यले बताए । उनका अनुसार जाजरकोटले १ करोड ९६ लाख, सल्यानले १ करोड ३३ लाख, रुकुम पश्चिमले १ करोड ८० लाख र सुर्खेतस्थित मेहलकुना अस्पतालले ९५ लाख रुपैयाँ पाएका छन् ।

प्रदेश सरकारले औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड ७९ लाख, प्रदेश आयुर्वेद औषधालयलाई ७ लाख २० हजार र सामाजिक विकास मन्त्रालयलाई ३ लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सोही बजेटबाट आईसीयू र भेन्टिलेटरलगायतका अत्यावश्यकीय उपकरणहरु खरिद गरिएका आचार्यले बताए ।

अहिले प्रदेशभरि २७ वटा क्षेत्रमा विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । जिल्ला अस्पतालसहित १० जिल्लाका २७ वटा स्वास्थ्यसंस्थालाई रणनीतिक अस्पतालका रुपमा अगाडि सारिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आईसीयू) र २० भेन्टिलेटरसहितका विशेष सघन उपचार कक्ष बनाइने उल्लेख गरेको छ ।

हरेक जिल्ला अस्पतालमा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष बनाउने योजना अगाडि सारिएको हो । सबै जिल्ला अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्तरोन्नति गर्न डोल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि १० करोडसहित अन्य जिल्ला अस्पतालको पूर्वाधार विकासका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको आचार्यले बताए ।

यसैगरी कर्णाली राजमार्गमा सडक दुर्घटनामा पर्ने जनतालाई लक्षित गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्न १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । साविकको कर्णाली बाहेकका ५ जिल्ला हेरिरहेको सहरी तथा भवन निर्माण विभाग, सुर्खेतमार्फत गत आर्थिक वर्षमा १९ वटा स्वास्थ्य चौकीको भवन निर्माण भएको कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यले बताए ।

उनका अनुसार ४३ वटा स्वास्थ्यका विभिन्न भवनमध्ये २४ वटा भवन निर्माणाधीन छन् । सबै भवनको निर्माण चालु आर्थिक वर्षभित्र हुने उनले जानकारी दिए ।

टेलिमेडिसिन सुरु

कोरोना त्रासबीच कर्णाली प्रदेश अस्पतालमा गत वैशाखदेखि टेलिमेडिसिन (दूरचिकित्सा) सेवाको पनि सुरुवात गरिएको छ । दुर्गम भेगका नागरिकमा देखापरेका जटिल समस्याको पहिचान गरी विशेषज्ञ चिकित्सकमार्फत उपचारमा सहयोग पुर्‍याउन टेलिमेडिसिन सुरु गरिएको हो ।

विभिन्न ठाउँमा रहेका बिरामीलाई प्रदेश अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले उपचारका लागि टेलिमेडिसिनमार्फत परामर्श दिइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । ‘कोभिड संक्रमणको बेला टेलिमेडिसिन सेवा झन प्रभावकारी भएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा पुगेका बिरामीको भिडियोमार्फत लक्षण हेरेर स्वास्थ्यकर्मीलाई उचित परामर्श दिइरहेका छौं ।’ टेलिमेडिसिनले रोग निदान सहज बनाएको उनले बताए ।

ठूलो क्षमताको अक्सिजन प्लान्ट

प्रदेश अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट सुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतका अनुसार दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट सुरु गर्न थालिएको हो । यसअघि अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट थियो । ‘क्षमता वृद्धि गरी केही महिनाभित्र अक्सिजन उत्पादन गर्ने गरी काम अघि बढेको छ,’ उनले भने, ‘हालसम्म जुम्ला र सुर्खेतमा मात्रै अक्सिजन प्लान्टको सुविधा छ ।’

निको हुने दर बढी

सबैभन्दा पछाडि जेठ पहिलो साता कोरोना संक्रमण देखिएको कर्णालीमा तुलनात्मक रुपमा कोरोनाबाट निको हुने दर बढी रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार असोज मसान्तसम्म कर्णालीमा ४ हजार ९ सय २५ जना संक्रमित भएकोमा ३ हजार ६ सय ७८ जना (७४ दसमलव ७ प्रतिशत) निको भएका छन् । निको हुने दर राष्ट्रिय औसत ६९ दसमलव ८ प्रतिशत रहेको छ । असोज मसान्तसम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नवराज केसीले करिब ५० जना संक्रमित आईसीयूमा उपचारपछि घर फर्किएका बताए । उनका अनुसार तीन दिनअघि मात्र फोक्सोको क्यान्सर भएकी एक ६५ वर्षीया एक महिला ४३ दिनका उपचारपछि घर फर्किएकी छिन् । ‘पछिल्लो समय अस्पतालमा सुविधा विस्तार गरिएको छ, यसले कोरोनासँग लड्न हामीलाई बल पुगेको छ,’ उनले भने, ‘विशेष सेवामा काम गर्ने जनशक्ति अभाव हुँदा भने अझै भनेअनुसार काम गर्न सकिएको छैन ।’

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा संक्रमण दर पनि अन्यत्रभन्दा कम रहेको छ । असोज मसान्तसम्म ८३ हजार ६६ जनामो पीसीआर गरिएकोमा ५ दसमलव ९ प्रशितमा संक्रमण देखिएको छ । राष्ट्रिय रुपमा भने पीसीआर परीक्षण गरिएकामध्ये १० दसमबल १ प्रतिशतमा कोरोना पुष्टि भएको उल्लेख छ ।

प्रकाशित : कार्तिक १, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?