थकालीले दिए ९ सय परिवारलाई खाद्यान्न

एलपी देवकोटा

जुम्ला — गुठिचौर गाउँपालिका–१ र २ का ९ सय परिवारलाई स्थानीय युवाले व्यक्तिगत खर्चमा दसैंका लागि खाद्यान्न वितरण गरेका छन् । गुठिचौर गाउँपालिकाका कार्यपालिका सदस्य जनक थकालीले सबै परिवारलाई २० किलो चामल र १ प्याकेट तेल उपलव्ध गराएका हुन् ।

थकालीले दिए ९ सय परिवारलाई खाद्यान्न

कोरोना महामारीका कारण विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या भएपछि उनले २३ लाख रुपैयाँको खाद्यान्न वितरण गरेका हुन् । ‘गुठिचौरका अधिकांश बासिन्दाको मुख्य आयस्रोत जडिबुटी हो,’ उनले भने, ‘कोरोना महामारीका कारण जडिबुटी संकलनमा रोक लगाइँदा सबैजसो घरमा जीविकोपार्जनमा समस्या देखिएपछि खाद्यान्न वितरण गरेको हुँ ।’ उनी जडिबुटी व्यावसायीसमेत हुन् ।


उनले संकटको बेला स्थानीयलाई सहयोग गरेको बताए । उनका अनुसार आम्दानी नहुँदा विपन्न परिवारलाई दसैंमा भात खान पनि समस्या देखिएको थियो । थकालीले उपलव्ध गराएको सामग्री गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी, उपाध्यक्ष जानदेवी ऐडी, नेकपा जिल्ला सचिवालय सदस्य आदीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका गाउँपालिका सभापति अर्जुन महतारालगायतले स्थानीयलाई हस्तान्तरण गरे ।


जडिबुटी टिप्न नपाउँदा यस वर्ष आम्दानी शून्य बनेको स्थानीय मनबहादुर ऐडीले वताए । ‘यति ठूलो राहत कसैले दिएका थिएनन्,’ उनले भने, ‘राहत पाएपछि ९ सय परिवारमा खुसी छाएको छ ।’ उनको कार्यले स्थानीय सरकारलाई समेत चुनौती दिएको स्थानीय अगुवा अर्जुन महताराले बताए ।

प्रकाशित : कार्तिक १, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?