दाउरा प्रहार गरी दाइको हत्या- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउरा प्रहार गरी दाइको हत्या

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–१०, थापाचौरका २० वर्षीय देवीलाल पुनले दाउरा प्रहार गरी २४ वर्षीय दाइ अमर पुनको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादमा दाजुभाइबीच झगडा भएको थियो ।

दाउरा प्रहारबाट अमरको टाउकोमा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार घटनालगत्तै देवीलाल फरार छन् । उनले दाइको हत्या गरेपछि घर नजिकैको ओढारमा शव फालेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

घटनाबारे वडाध्यक्ष मानसिं पुरीले जानकारी दिएपछि प्रहरीले ओडारबाट शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित : कार्तिक १, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

चोक कुरिबसेकी आइमाई

शकुन्तला जोशी

यसअघिका दिनजस्तै यो साँझ पनि कोही सोध्न आउने छैनन्प्रेमीलाई पर्खिरहेकी तरुनी ठिटी जसरीचोकलाई कुरिबसेकी मकिन चढिनँ कुनै गन्तव्यतिर हुइँकिइरहेको साझा बस ?कोही सोध्न आउने छैन ।


हतारमा छ सडक

हतारमा छन् मानिस

चिप्लेकिरा जति पनि हिँड्दैनन् गाडीका टायरहरू

ऐठनजस्तो छटपटीमा सडकभरि थुकिरहन्छ भीड

प्यान्थरको बेवारिस प्याकेट फालिएको फोहोरको डुंगुरमा

खेलिरहेकी छ लाटी आइमाईकी छोरी

भोको पेटलाई आमाचकारी गाली गरिरहेछन्

डेन्ड्राइट्सको नशाले लठ्ठिएका सडक बालकहरू

घरीघरी मतिर हात थाप्छन्

रैथाने ज्यापू बस्तीतिर आज कुनै भोज नभएको हुनुपर्छ

कसैले बाटोमा राखेन सिकी बोः दे बोः

म सिर्फ माफीका आँखाहरूले हेर्छु उनीहरूतिर

कोही हेर्दैनन् हामीलाई

हतारमा छ सडक

हतारमा छन् घर भएका मानिसहरू ।

मेरै छेउ भएर बगिरहेछ मानिसका ताँती

तर, कसैले सोध्ने छैनन्

– किन कोही लिन आएन मलाई रात खसिसक्दा पनि ?

– किन बूढो कुकुरसँगै बाटोमै अल्मलिइरहेछु म ?

– किन घर जाँदैनन् ती बालकहरू ?

कसैले सोध्ने छैनन्

हतारमा छ सडक

हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मान्छेहरू ।


यही बाटो हुँदै सवारी हुन्छ प्रधानमन्त्रीको गाडी

यहीँबाट दायाँ मोडिएको हो

मेसिनगन ओभरलोडेड ट्यांकर

यतै फालेर गएका हुन्

संयुक्त राष्ट्र संघले शान्ति मिसनको पर्चा

राष्ट्रिय झन्डा फहराउँदै

प्रधानन्यायाधीश हिँड्ने बाटो यही हो

यतैबाट निस्केको थियो राजतन्त्रविरोधी जुलुस

यही चोकमा हुन्छ गणतन्त्रविरुद्ध नाराबाजी

शिरमा कालोपट्टी बाँधेका जवानहरूले

यहीँ उभिएर मार्चपास गरेका हुन्

दिनभरि यहीँ गस्ती गरेर फर्केका हुन् सुरक्षाकर्मीहरू

शंकाको गोलगप्पा आँखा बोकेका सज्जनहरू

हतार–हतार नाघ्दै छन् चोक

हातमा नानी डोहोर्‍याएका आमाहरू

दौडिरहेछन् असुरक्षाको गन्ध सुँघ्दै

यी सब दृश्यहरूको चस्मदिद गवाह म

यही असुरक्षित चोकमा

कुकुरसँग गुडुल्किएर रुँघिरहेछु रातलाई ।


सखारै निद्रा बिथोल्छ मन्दिरको घण्टा

रोगी सहरलाई बोकेर साइरन बजाउँदै दगुर्छ एम्बुलेन्स

हतारिँदै पीपलमा पानी चढाउँछन्

रातभर लोग्नेको कुटाइ खाएका महिलाहरू

काकाकुल सहरलाई पानी बेच्दै दौडिन्छ

शुद्ध पानी बोकेको ट्याङ्कर

बुट बजार्दै निस्कन्छन् परेडमा सिपाहीहरू

खर्पनभरि तरकारी बोकेर निस्कन्छ बूढो ज्यापू

हाई काढिरहेका विद्यार्थी कोचेर

दौडिन्छ स्कुल बस

सरकारी अर्दली

असिनपसिन हुँदै नगरबस पर्खिरहेछन्

चलिरहेकै छ सफाइ मजदुरको हड्ताल

उही समय युट्युब लाइभमा मस्त छन् नगरप्रमुख


जुगजुगानु चलिआएको थितिलाई मिचेर

कुन देशद्रोहीले झोस्यो संसद्भवनमा आगो ?

हुरहुरी सल्किरहेछ लालमोहर लागेका विधेयकहरू

मयलले कट्कटिएको मेरो छालाभन्दा कालो धूवाँ फाल्दै

यहीँबाट घिस्रिन्छ जुद्ध बारुण

लखेटिँदै लखेटिँदै सहरका अनेक चोक र गल्लीबाट

सभ्य र भव्य मन्दिरका आँगनबाट

यो चोकमा आइपुगेको म र बूढो कुकुर

जीवनलाई विस्तारै निलिरहेका नशाग्रस्त बालकहरू

लाटी र त्यसकी छोरी

हो, हामी तपाईंको लालमोहन ठोकिएको

संविधान उल्लंघन गरिरहेका छौं यतिबेला

यो आदिम नगरमा हामी आफ्नो हराएको अनुहार खोजिरहेका छौं

सरकार !

के तपाईंको संसद्भवनभित्र थुनिएका छन् हाम्रो अनुहार ?


कोही जवाफ दिने छैनन्

आज पनि हतारोमा छ सडक

हतारोमा छ सदन

हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मानिसहरू ।

प्रकाशित : कार्तिक १, २०७७ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×