१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दसैंको मुखमा खाद्य डिपो रित्तै 

बजारको महँगो चामल किनेर चाड मनाउँदै दुर्गमका बासिन्दा 
राजबहादुर शाही

मुगु — दसैं नजिकिँदै गर्दा जिल्लाका ४ स्थानीय तहका खाद्य डिपोहरु ३ महिनादेखि रित्तिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै खाद्यान्न ढुवानी नगर्दा गाउँका डिपोहरु रित्ता बनेका हुन् । 

दसैंको मुखमा खाद्य डिपो रित्तै 

चालु आर्थिक वर्षमा कम्पनीले सदरमुकाम गमगढीमा करिब १३ सय क्विन्टल चामल ढुवानी गरेको छ । तर ग्रामीण क्षेत्रका सोरुकोट, पूलु, श्रीकोट, रातापानी र कालै डिपोमा साउनदेखि चामल गएको छैन । दसैंको मुखमा खाद्य डिपो रित्तिएपछि स्थानीयबासी बजारबाट महँगो मूल्यमा खाद्यान्न खरिद गरी उपभोग गर्न बाध्य छन् । ‘ढुवानी अनुदानको चामल गाउँमा कहिल्यै आउँदैन,’ सोरुकोटका कमल शाहीले भने, ‘बजारबाट २ गुणा महँगो मुल्यमा चामल किन्नुपर्ने बाध्यता छ ।’ खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको उनले गुनासो गरे ।

दसैं र तिहारमा पनि खाद्यको चामल नपाइने समस्या वर्षौदेखि रहेको सोरु गाउापालिका–६ का पदमबहादुर शाहीले बताए । उनका अनुसार अन्न उत्पादन कम हुँदा अधिकांश बासिन्दालाई बाहिरको चामल किन्नुपर्ने बाध्यता छ । ‘पुरानो अन्न सकियो,’ उनले भने, ‘नयाँ अन्न पाकेको छैन ।’ उनले सोरुकोट डिपोमा चामल नहुादा भीई, नार्थपु, जिमालगायत गाउँका बासिन्दा सदरमुकाममा चामल लिन आउनुपर्ने बाध्यता रहेको बताए ।

डिपोमा चामल ढुवानी नहुँदा स्थानीयले खाद्यान्न अभावको सामना गर्नुपरेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश घरधुरीमा आफ्नै उत्पादनले ६ महिनाभन्दा बढी खान पुग्दैन । ‘डिपोमा चामल आए विपन्न परिवारलाई राहत मिल्थ्यो,’ उनले भने, ‘कतिपयले ऋण गरेरै भए पनि दसैं–तिहारका लागि खाद्यान्न किनेका छन् ।’

मुगमकार्मारोङको पूलु खाद्य डिपो पनि गत साउनदेखि रित्तै हुँदा ९ वटै वडाका बासिन्दा छाइल बजार पुगेर चामल खरिद गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार खाद्यको चामल २५ किलोको बोराको १५ सय ६० रुपैयाँ पर्ने भए पनि स्थानीयबासी बजारमा २ हजार रुपैयाँ प्रतिबोरा चामल खरिद गर्न बाध्य छन् ।

ठेक्का प्रक्रियामा ढिलाइ हुँदा खाद्य डिपोमा चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार गमगढीमा पनि पर्याप्त चामल ढुवानी हुन सकेको छैन । उनले शाखा कार्यालयका लागि १३ सय क्विन्टल चामल ढुवानी भएको जानकारी दिए ।

प्रकाशित : आश्विन २९, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?