कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुल निर्माण ठप्प, बेलीब्रीजले जोखिम बढायो 

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–४ सोलाबाङ र १२ नम्बर वडाको बैरागीठाँटी जोड्न राप्ती लोकमार्गस्थित साँखखोलामा निर्माणाधीन पुलको काम रोकिएको ७ महिना बित्यो । त्यसको विकल्पको रुपमा रहेको बेलीब्रीज जीर्ण बनेपछि जिल्ला भित्रने सयौं यातायातका साधन जोखिम मोलेर वारपार गराउनुपर्ने बाध्यता छ । 

पुल निर्माण ठप्प, बेलीब्रीजले जोखिम बढायो 

जीर्ण बनेको बेलीब्रीज राप्ती लोकमार्गको ट्रयाक खोल्ने क्रममा २०६२ सालमा निर्माण गरिएको थियो । बेलीब्रीजमा जडान गरिएका फलामका पाताहरु टुक्रिएर झरेका छन् भने केही पाता उप्किएका छन् । बेलीब्रीज जीर्ण बनेपछि खोलामा पक्की पुल निर्माण थालिएको थियो । ‘अर्को विकल्प छैन, जोखिम उठाएरै गाडी गुडाइरहेका छौं,’ चालक लोकबहादुर बुढाथोकीले भने, ‘कुन दिन गाडी खोलामा खस्ने हो टुंगो छैन ।’ रुकुम पश्चिम र रुकुम पूर्वबाट दाङ, नेपालगन्ज, बुटबल र काठमाडौं जाने अर्को सडक नहुँदा जोखिम उठाउनुको विकल्प नभएको उनले गुनासो गरे ।

भएको पुल जीर्ण बन्दा र बन्न लागेको पुल अलपत्र हुँदा यात्रा जोखिमपूर्ण बनेको स्थानीय शिक्षक लोकबहादुर केसीले बताए । ‘पुल निर्माण र बेलीब्रीजको अवस्थाबारे सबैतिर जानकारी गराउँदा पनि बेवास्ता भइरहेको छ,’ उनले भने, ‘बेलीब्रीजकै कारण ठूलो दुर्घटना निम्तिने जोखिम छ ।’

जीर्ण बनिसकेको बेलीब्रीज विस्थापित गर्ने गरी सूर्यलाइट जेभीले पुल निर्माणको जिम्मा लिएको छ । २०७७ साउन महिनामै निर्माण सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले पुलको आधा काम पनि गरेको छैन । २ वर्षअघि ठेकेदार कम्पनीले सडक विभागको वैदेशिक महाशाखाअन्तर्गतको आरएसडीपी परियोजनासँग पुल निर्माणको सम्झौता गरेको थियो । विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा सल्यानको पटारेसहित साँखखोलामा पुल निर्माण गर्न लागिएको हो । पटारे पुल निर्माणको जिम्मा पनि यही कम्पनीले लिएको छ ।

पुलको लम्बाई झण्डै ३५ मिटरको छ । पुल निर्माणमा ढिलाइ भएको र बेलीब्रीज पनि मर्मत नभएको गुनासो बढेपछि सर्वपक्षीय बैठक गरेर आवश्यक निर्णय लिन लागिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । नगरपालिकाको प्राविधिक शाखाका अनुसार अहिलेसम्म पुल निर्माणको ४० प्रतिशत काम मात्र पूरा भएको छ ।


प्रकाशित : आश्विन २८, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?