खोला नभएको ठाउँमा पक्की पुल निर्माण

ज्योति कटुवाल

दैलेख — कर्णाली राजमार्गअन्तर्गतको सियाला खण्डमा खोला नभएको ठाउँमा पक्की पुल निर्माणलाई तीव्रता दिइएको छ । दुल्लु नगरपालिका–३ सियालामा सडकमै पुल निर्माण भइरहेको हो ।

खोला नभएको ठाउँमा पक्की पुल निर्माण

सडकमै पुल बन्न थालेपछि स्थानीयबासी विरोधमा उत्रिएका छन् । ‘खोला भएका ठाउँमा यात्रुले सास्ती भोग्दै आए पनि पुल बन्न सकेका छैनन्,’ वडाध्यक्ष कमलबहादुर खनालले भने, ‘बजेट सक्न यहाँ त बीच सडकमै पुल बनाउन थालियो ।’ रसुवा/ईलाइट/सूर्य जेभीले निर्माण गरिरहेको ‘कालाखोला पुल’को लम्बाइ करिब १५ मिटर छ । कम्पनीले २०१७ जुनमा पुल निर्माणको सम्झौता गरी लकडाउनको कारण देखाउँदै दोस्रोपल्ट निर्माणको म्याद थपेको छ ।

प्याकेजमा काम भइरहेकाले करिब २ करोड लगानीमा पुल निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार झण्डै ७० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

वडाध्यक्ष खनालका अनुसार पुल बन्न थालेको ठाउँभन्दा करिब २ सय मिटर नजिक रालेखोला छ । तर त्यहाँ पुल नहुँदा वर्षायाममा सवारी साधन रोकिने गरेको उनले बताए । बाह्रै महिना पानी हुने ठाउँमा पुल बनाउन भने सडक डिभिजन कार्यायले बेवास्ता गरेको उनी बताउँछन् ।

काम रोक्न दबाब दिए पनि ठेकेदार कम्पनीले भने अटेर गरिरहेको स्थानीय पवन शाहीले बताए । ‘सधै पानी बग्ने ठाउँमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ,’ उनले भने, ‘बरु रालेखोलामा पुल बनाउ भन्दा ठेकेदारले त्यहाँ बजेट नपुग्ने भएकाले यता बनाएको भन्ने जवाफ दिन्छन् ।’ राजमार्गका धेरैजसो पुल अधिकांश रकम कुम्ल्याउने तरिकाले बन्न लागेको उनको आरोप छ ।

दुर्गममा अनुगमन फितलो हुँदा पनि विकासमा मनपरी भएको स्थानीय युवा भिमेश्वर थापाले बताए । ‘कतै सडकमुनि पुल छ, कही बीच सडकमै,’ उनले भने, ‘पुल डिजाइनको जिम्मा लिएका कन्सल्टेन्सीले काठमाडौमै बसेर डिजाइन बनाउँछन्, अनि कसरी हुन्छ दुर्गमको विकास ?’ सुगमका पुलको ‘कपि–पेष्ट’ गरेर दुर्गमका पुलको डिजाइन गरिँदा अधिकांश खोलामा पुल निर्माण अलपत्र परेको उनको भनाइ छ ।

कर्णाली राजमार्गको सुर्खेत–दैलेख र दैलेख–कालीकोट खण्डमा २०६८ सालबाट सुरु गरिएका केही पक्की पुलको निर्माण भने लामो समयदेखि अलपत्र छ । गलत स्टमेट भएकाले धेरै ठाउँमा पुल निर्माणको काम हुन नसकेको हो । रसुवा/ईलाइट/सूर्य जेभीले दोस्रो प्याकेजको रुपमा १९ करोड २६ लाख रुपैयाँमा १५ पुलको निर्माणको जिम्मा लिएको छ । त्यसमध्येको एउटा पुल हो– कालाखोला ।

रालेखोलामा पुल नचाहिने भएपछि कालेखोलामा पुल बनाउन लागिएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले बताए । उनका अनुसार खहरेखोला भएकाले जतिखेर पनि बाढी आउने भएकाले कालेखोलामा पुल बनाउन लागिएको हो ।

प्रकाशित : आश्विन २७, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?