आफूविरुद्धको अविश्‍वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मुख्यमन्त्री शाहीले बनाए सचेतक

कर्णालीमा अविश्वास प्रस्ताव प्रकरणले नयाँ मोड लियो, नेपाल पक्षीय शाही सचेतक नियुक्त
कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

आफूविरुद्धको अविश्‍वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मुख्यमन्त्री शाहीले बनाए सचेतक

सचेतकमा नियुक्त शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद हुन् । उनको नियुक्तिसँगै अविश्वासको प्रस्तावमा नेपाल पक्षीय सांसद पछि हटेको संकेत मिलेको छ । यसबाट कर्णाली प्रदेशका सत्ता–समीकरणमा पनि परिवर्तन हुने नेकपा निकट एक नेताले बताए ।


मुख्यमन्त्री शाहीले आइतबारमात्र प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए । नेपाली यसअघि सचेतक थिइन् ।

विवाद समाधानमा सक्रिय नेपालका पक्षका संघीय सांसद ध्रुवकुमार शाहीले अविश्वासको प्रस्ताव प्रक्रिया अघि नबढ्ने गरी समाधानको पहल भइरहेको बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका १८ जनामध्ये ७ जना नेपाल पक्षका, ८ जना अध्यक्ष केपी ओली पक्षका र ३ जना अध्यक्ष पुष्पकमल दाहाल पक्षका रहेका छन् । भूमि व्यवस्था तथा कृषिमन्त्रीसमेत रहेकी पूर्वमाओवादी समूहकी विमला केसीले दाहाल पक्षका ३ जनाले पनि हस्ताक्षर फिर्ता लिनेबारे छलफल भइरहेको बताइन् ।

प्रकाशित : आश्विन २७, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?