१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडक मर्मतको ठेक्का तोडियो

हरि गौतम

रुकुम पश्चिम — सम्झौताअनुसार काम नभएपछि चौरजहारी नगरपालिकाले सडक मर्मतको जिम्मा पाएका ठेकेदारसँग सम्झौता तोडेको छ । नगरपालिकाले वर्षाका कारण अवरुद्ध भएका सडकको मर्मतका लागि २ ठेक्का खोलेको थियो ।

सडक मर्मतको ठेक्का तोडियो

तर तोकिएको समयभित्र र सम्झौताअनुसार काम नभएको भन्दै ठेक्का तोडिएको हो । नगरपालिकाले दुवै ठेक्काको जिम्मा एचबी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिलाई दिएको थियो । ४० लाख रुपैयाँमा खोलिएका दुवै ठेक्का कम्पनीले झण्डै ५० प्रतिशत घटेर लिएको थियो ।

नगरपालिका र कम्पनीबीच ७ दिनमा काम सक्ने गरी गत असोज ८ गते सम्झौता भएको थियो । कम्पनीको आग्रहअनुसार थप ३ दिनको म्याद थप्दा पनि काम हुन नसकेपछि जिल्लास्तरीय अनुगमन टोलीको सिफारिसमा ठेक्का तोडिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । सम्झौता रद्द भएसँगै उक्त काम नगरपालिका आफैले सुरु गरेको उनको भनाइ छ । दसैंअघि नै बाढी–पहिरोले क्षति पुर्‍याएका सबै सडक मर्मत गरिसक्ने नगरपालिकाको योजना छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले २ सय ७० किलोमिटर सडकको ८४ हजार घनमिटर माटो हटाउनुपर्ने थियो । मंगलबार प्राविधिकसहित राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरी, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलगायतको टोलीले सडकको अनुगमन गरेको थियो ।

अनुगमनपछि टोलीले सम्झौता अनुसारको काम नभएको भन्दै ठेकेदार कम्पनीलाई कानुनी कारबाही गर्न सिफारिस गरेको थियो । मर्मत तथा सफाइ गरिएको भनिएको चिप्लेटीदेखि नार्जि, मलामेडाँडा, सिलिंगी र भुरुङखोला सडकमा कामै नभएको पाइएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । उनका अनुसार स्टामेटअनुसार काम नभएको, खाल्डाखुल्डी नपुरेको र पहिरो नहटाएको पाइएपछि कारबाहीको सिफारिस गरिएको हो ।

प्रकाशित : आश्विन २१, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?