ज्वाइँलाई छोरा भनेर नागरिकता दिलाउँदा दुई जना पक्राउ

विप्लव महर्जन

सल्यान — ज्वाइँलाई छोरा भनेर  फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ  ।

ज्वाइँलाई छोरा भनेर नागरिकता दिलाउँदा दुई जना पक्राउ

छत्रेश्वरी गाउँपालिका–७ जिताठान बस्ने बर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका–७ दाङ घर भई हाल जिताठान बस्दै आएका बर्ष २३ का समिर मियाँ भन्ने ईमाम बक्स मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

छत्रेश्वरी गाउँपालिका ७ वडा कार्यालयको सिफारिसमा २०७५ भदौ २४ गते मुस्ताज मियाँका छोरा भन्दै ज्वाइँ समिर मियाँले नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउमा परेका दुबै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

दाङ घर भएका समिर मियाँले बाबु बिसमुल्ला मियाँलाई पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेकाले सल्यान आएर ससुरालाई बुवा बनाएर नागरिकता लिन परेको बयान दिएको प्रहरी निरीक्षक ओलीले बताए । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन २१, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?