१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्व्यवहारकाे हद : पतिले नै गाउँलेसँग मिलेर पत्नीलाई दिसा खुवाए

छपाल लामा

हुम्ला — परपुरुषसँग लागेको आरोप लगाउँदै सिमकोट गाउँपालिका–७, ओख्रेनमा २३ वर्षीया युवतीलाई उनकै पति र गाउँले मिलेर कुटपिट तथा दुर्व्यवहार गरेका छन् । गाउँकै देवर नाता पर्ने किशोरसँग लागेको भन्दै गाउँलेले शुक्रबार उनलाई दिसा खुवाएर कपाल मुण्डन गरिदिएका हुन् ।

घटनापछि युवती न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी छिन् । उनलाई श्रीमान् धनबहादुर शाही र गाउँलेले दिसा खुवाएको प्रहरीमा दर्ता गरिएको जाहेरीमा उल्लेख छ । ‘गाउँलेहरु मिलेर जथाभावी कुटे,’ उनले भनिन्, ‘फोनमा कुरा गरेकै आधारमा जथाभावी आरोप लगाइयो ।’ आफूमाथि शुक्रबार बिहानैदेखि कुटपिट सुरु भएको र कपाल काटेर जुत्ताको माला लगाइदिएपछि भागेर प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

कुटपिटका कारण युवतीको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । ‘जन्म्याकै दिनदेखि आमाबुबाले नकाटेको कपाल गाउँले मिलेर काट्दा आकाशबाट छिरे (खसे) जस्तै भयो,’ उनले रुँदै भनिन्, ‘जुत्ताको माला लगाएर कालोमोसो दली गाउँभरि घुमाए ।’

उनका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि छोराछोरीको माया लागेको उनले बताइन् । उनले १७ वर्षको उमेरमा धनबहादुरसँग बिहे गरेकी हुन् ।

घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरीप्रमुख डीएसपी सूर्यप्रसाद सुवेदीले बताए । उनका अनुसार घटनामा संलग्न ८ जनालाई पक्राउ गरिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन १७, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?