३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यालय खुले, विद्यार्थी वनतिरै

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिए पनि विद्यार्थी भने वनतिरै जडीबुटी टिप्न व्यस्त छन् । कोरोना महामारीले झन्डै ६ महिनादेखि बन्द विद्यालय खुले पनि विद्यार्थी नआउँदा पठनपाठन प्रभावित भएको छ । 

विद्यालय खुले, विद्यार्थी वनतिरै

अहिले मुगुमकार्मारोङका अधिकांश गाउँमा कटुकी, भोत्ले, वन लसुन, तिलेलगायत जडीबुटी टिप्ने चटारो छ । जडीबुटीबाट राम्रो आम्दानी हुने भएपछि बालबालिकादेखि वृद्धसम्म वनमा व्यस्त बनेको मुगुगाउँका टासिछिरिङ तामाङले बताए । ‘बालबालिकाले चाँडो जडीबुटी टिप्ने भएकाले साथैमा ल्याएका हौं,’ उनले भने, ‘सिजन सकिन लागेकाले सबैलाई जडीबुटी टिप्ने हतारो छ, ढिलोमा एक हप्तामा गाउँतिर फर्कन्छौं ।’

गाउँपालिकाको निर्णयअनुसार विद्यालय खोलिए पनि विद्यार्थी नआउँदा समस्या भएको जनजागृति आधारभूत विद्यालयका शिक्षक पासाङ तामाङले बताए । उनका अनुसार मुगुगाउँका कक्षा २ देखि ५ सम्मका सबै बालबालिका अहिले जडीबुटी टिप्न व्यस्त छन् । अभिभावकसँगै विद्यार्थीहरू कोइकी र छापाखोलातिर जडीबुटी टिप्न गएका हुन् । ‘विद्यार्थी आउने आसमा विद्यालय खोलेको एक साता बित्यो,’ उनले भने, ‘जडीबुटी टिप्ने चटारोले धेरै गाउँ सुनसान बनेका छन् ।’ गत वर्ष ५६ जना विद्यार्थी रहेको विद्यालयमा यस वर्ष सात जना मात्र भर्ना भएको उनले जानकारी दिए ।

कान्जिरोवा प्राथमिक विद्यालय डोल्फु र नेपाल राष्ट्रिय प्रावि चित्तैमा पनि विद्यार्थी नआउँदा शिक्षक घाम तापेर दिन कटाउन बाध्य छन् । ‘स्कुल खुले पनि विद्यार्थी पाटनबाट झरेनन्,’ नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक जनकबहादुर शाहीले भने, ‘सबै अभिभावकलाई विद्यार्थी पठाउन खबर गरिएको छ ।’ उनका अनुसार मुगमकार्मारोङका अभिभावकले यार्चा टिप्ने मौसममा पनि बालबालिकालाई आफूसँगै पाटन लैजान्थे । कोरोना महामारीका कारण गाउँपालिकाले यस वर्ष यार्चा संकलनमा रोक लगाएको छ ।

विद्यार्थीहरू वनबाट झर्न थालेकाले भर्ना अभियान जारी राखिएको आवासीय माध्यमिक विद्यालय, पुलुका प्रधानाध्यापक कुशल शाहीले बताए । उनका अनुसार सबै विद्यार्थीका लागि चाहिने पाठ्यपुस्तक विद्यालयमा आइसकेका छन् । गरिबीका कारण अधिकांश अभिभावकले बालबालिकालाई जडीबुटी टिप्न लैजाने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए । ‘धेरैजसो अभिभावकको अरू आम्दानीको स्रोत छैन,’ उनले भने, ‘अन्न उत्पादन न्यून भएकाले अधिकांश घरधुरीले जडीबुटी बिक्री गरेर जीविकोपार्जन गर्छन् ।’

प्रकाशित : आश्विन १५, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?