त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीसहित जिल्लामा थप २० जनालाई कोरोना संक्रमण देखिएको छ । त्रिवेणीमा अध्यक्ष डाँगी, प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुनसहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का र चार कर्मचारीसहित १५ जना र दुई स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा मंगलबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना देखिएको हो । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै संक्रमित भएपछि त्रिवेणीका लुहाम बजार सिल गरिएको छ । त्यस्तै छत्रेश्वरी–६ लान्ती, भोटेचौर बजार, गाउँपालिका कार्यालय एक साताका लागि सिल गरिएको छ । पालिकाअन्तर्गतका सरकारी कार्यालय, वडा कार्यालय, वित्तीय संस्था, बैंक, सहकारी बन्द गरिएका छन् ।

संक्रमण पुष्टि भएपछि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका कार्यालयको क्वार्टरमा राखिएको त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलकराज रावलले बताए । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले संक्रमण फैलन नदिन गाउँपालिका कार्यालय र वडा नं ६ सिल गरिएको बताए ।

यस्तै महिला स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि इमर्जेन्सीबाहेकका सेवा बुधबारबाट एक सातालाई बन्द गरिएको जिल्ला अस्पतालका व्यवस्थापक भीमकान्त जैसीले बताए । अन्य संक्रमितलाई छत्रेश्वरीको भोटेचौर माविस्थित आइसोलेसन र सल्यान बहुमुखी क्याम्पस, लुहापिङको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

प्रकाशित : आश्विन १४, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?