३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिमीका दुई विद्यालयमा अर्धवार्षिक परीक्षा सकियो

छपाल लामा

हुम्ला — कोरोनाको कारण देशभरको शैक्षिक गतिविधि ठप्प भए पनि हुम्लाको लिमी उपत्यकाका दुईवटा विद्यालयमा अर्धवार्षिक परीक्षा पनि सकिएको छ ।

लिमीका दुई विद्यालयमा अर्धवार्षिक परीक्षा सकियो

लिमी नाम्खा गाउँपालिका ६ मा पर्छ । उक्त वडामा सुनखानी प्रावि, भृकुटी प्रावि र हिमशिखर प्रावि गरी तीनवटा विद्यालय छन् । हिमशिखर प्रावि भने विद्यार्थी नहुँदा बन्द अवस्थामा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

गाउँपालिकाका अन्य वडाका विद्यालयहरु पनि बन्द छन् । ‘एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी हुँदैनन्, मापदण्ड पूरा गरेरै विद्यालय सञ्चालन भइरहेको छ,’ वडाध्यक्ष तामाङले भने, ‘पढाइ निरन्तर चलेकोले परीक्षा पनि लिइएको हो ।’

सुनखानी प्रावि र भृकुटी प्राविले भदौ २८ देखि सुरु गरेको अर्धवार्षिक परीक्षा असोज ५ गते सकिएको छ । ‘लकडाउन भए पनि हामीले पढाइ निरन्तर गरिरह्यौं, विद्यार्थीले आधाभन्दा बढी कोर्स भ्याइसके,’ सुनखानी प्राविका प्रधानाध्यापक कर्णजित बुढाले भने, ‘त्यही भएर अहिले परीक्षा लिएका हौं ।’

सुनखानीमा ९९ जना विद्यार्थी भर्ना भएकामा नियमित रुपमा विद्यालय आउने ५६ जनामात्र छन् । भृकुटी प्राविमा भने ८ जना विद्यार्थीमात्र भर्ना भएका छन् । ती सबैले अर्धवार्षिक परीक्षा दिएका छन् । यी दुई विद्यालयले वार्षिक परीक्षा मंसिर पहिलो सातादेखि सुरु गर्ने योजना बनाएका छन् । फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले हिउँदमा दुई महिना विद्यालय बन्द गरिने वडाध्यक्ष तामाङले बताए । गाउँमा कोरोना नभएको र मास्क तथा स्यानिटाइजर पनि उपलब्‍ध नभएकोले सामान्य अवस्थामै विद्यालय सञ्चालन भएको उनको भनाइ छ ।

सुनखानी प्राविमा ५ जनामध्ये ३ जना स्थानीय शिक्षक भएकोले पनि सहज भएको विद्यालयले जनाएको छ । प्रअ बुढाका अनुसार बाक्लो हिमपातका कारण मंसिरदेखि लिमीसँग अन्य क्षेत्रको सम्बन्ध बिच्छेद हुन्छ । ५ हजार मिटर उचाइको नारा लेक भएर लिमी जानुपर्ने भएकोले बर्सेनि करिब ४–५ महिना लिमी सम्बन्धविच्देद हुने गर्छ ।

प्रकाशित : आश्विन १३, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?