मुगुमा सीमा क्षेत्रका विद्यालय खुले - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा सीमा क्षेत्रका विद्यालय खुले 

राजबहादुर शाही

मुगु — नेपाल–चीन सीमास्थित मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा ६ महिनापछि पठनपाठन सुरु भएको छ । गाउँ कार्यपालिका बैठकले विद्यालय खुलाउने निर्णय गरेपछि मुगु, डोल्फू, चितैलगायत गाउँका विद्यालयमा पढाइ सञ्‍चालन भएको हो । 

मुगुमा कोरोना संक्रमण नदेखिएको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको हो । कोरोना महामारीको डरले बन्द भएका विद्यालय झण्डै ६ महिनापछि खुलेको मुगुगाउँका शिक्षक पासाङ तामाङले बताए । उनका अनुसार चितै र डोल्फूका सबै प्राथमिक विद्यालय खुला गरिएको छ ।

‘अत्यधिक चिसो क्षेत्र भएकाले पुसदेखि फागुन १५ सम्म जाडो बिदा गर्नुपर्छ,’ उनले भने, ‘कोरोनाका कारण यस वर्ष मुस्किलले ४ महिना पढाइ हुने देखियो ।’एक आवासीयसहित १८ वटा विद्यालयमा पठनपाठन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए ।

छायानाथरारा नगरपालिकाले पनि असोज १४ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोना कहरकै कारण शैक्षिक सत्र खेर जाने भएपछि विद्यालय खोल्ने निर्णय गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए ।


प्रकाशित : आश्विन ११, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट २४ घन्टामा १० जनाको मृत्यु, ८ सय ८५ डिस्चार्ज 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा एक महिलासहित ५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी बारामा २० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । यो कूल संक्रमितमध्येमा शून्य दशमल ६५ प्रतिशत हो ।

२४ घन्टामा ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।

२४ घन्टाको अवधिमा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन ११, २०७७ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×