१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खलंगामा पहिरो खसेको खस्यै

पहिरो नियन्त्रणमा बेवास्ता, बस्ती जोखिममा
भीमबहादुर सिंह

जाजरकोट — गत बुधबार रातिदेखि खलंगा–रिम्ना सडक अवरुद्ध छ । सडक अवरुद्ध भएपछि झण्डै दुई दर्जन यातायातका साधन चार दिनदेखि गन्तव्यमा पुग्न सकेका छैनन् । लगातारको वर्षाले शान्तिचौतारा–थाप्लेचौर सडकखण्डको पाँच ठाउँमा पनि पहिरो खसेको छ ।

खलंगामा पहिरो खसेको खस्यै

रेडक्रस भवन र राष्ट्रिय अनुसन्धान कार्यालयमुनि रहेको सडकमा वर्षेनि पहिरो बढ्दै गएपछि ती कार्यालयसहित सदरमुकाम खलंगा असुरक्षित बनेको हो । सरकारी निकायले पहिरो नियन्त्रणका लागि पहल नगर्दा सदरमुकाममा जोखिम बढ्दै गएको छ । भिरालो भूबनोट, वन फडानी, उचित ढल निकासको अभावलगायत कारण आसपासका गाउँहरु पहिरोको चपेटामा परेको नागरिक अगुवा धनसरा शाहीले बताइन् । उनका अनुसार भौगर्भिक अध्ययन, माटो परीक्षण र वातावरण प्रभाव मुल्यांकनबिना सडक निर्माण गरिँदा गाउँगाउँमा पहिरोको जोखिम बढ्दै गएको छ ।

उक्त सडकको वैकल्पिक मार्ग न्युरोड–ठाँटीबजार हुँदै गैरीखाली पुग्ने सडक निर्माणमा बेवास्ता गरिँदा स्थानीयले वर्षौदेखि सास्ती भोगिरहेका छन् । ‘पहिरोका कारण बिरामीलाई समयमै अस्पताल लैजान समस्या छ,’ शाहीले भनिन्, ‘४/५ दिनदेखि खलंगा, ठाटी र थाप्ले बजारसँग जिल्ला अस्पतालको सडक सम्पर्क विच्छेद छ ।’ पहिरोले सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा पिठ्युमा भारी बोकेर आवजावत गर्न वाध्य भएको उनले बताइन् । उनका अनुसार रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन ।

पैदलयात्री पहिरो खसेको ठाउँमा भुण्डिएर आवजावत गर्न वाध्य भएको स्थानीय कमल सिंहले बताए । ‘यी ठाउँमा पहिरो खसेको खस्यै हुन्छ,’ उनले भने, ‘तर स्थानीय सरकारले वर्षौदेखि बेवास्ता गरिरहेको छ ।’ सडकबाट खसेको पहिरो झण्डै ३ सय मिटर तल पुगेको उनको भनाइ छ । सडकमुनिको जंगल पहिरोले चिराचिरा बनेको उनले बताए ।

गत वर्ष पनि रेडक्रस आसपासका क्षेत्रमा पहिरो खसेको थियो । सरकारी निकायले करिब १० लाख रुपैयाँ खर्च गरी अस्थायी संरचना निर्माण गरेर सडक सुचारु गराएका थिए । जाजरकोट–डोल्पा सडकको शान्तिचौतारा–थाप्लेचौर सडकखण्ड पनि लामो समयदेखि भत्किएको सिंहले बताए । सडकका कारण न्युरोड, ठाँटी, सिमलगैरी र भेलागाउँ पहिरोको उच्च जोखिममा परेको उनको भनाइ छ । ‘सडक र भवनलगायतका संरचना अन्धाधुन्ध निर्माण गरिन्छ, तर नालीको व्यवस्था गरिदैन,’ उनले भने, ‘भिरालो भूबनोट र कमजोर जमिनका कारण पनि खलंगामा भूक्षय बढ्दै गएको छ ।’

कमजोर ठाउँमा जथाभावी संरचना निर्माण गर्दा पनि भूक्षय बढ्दै गएको पूर्वाधार कार्यालयका सवइन्जिनियर टेकन्द्र रोकायले बताए । उनका अनुसार माटो परीक्षण बिना सडक र भवन निर्माण गर्नु, जमिनले थेग्ने क्षमता एकीन नगरेर निर्माण कार्यहरु गरिनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फालिनु, जथाभावी ‘सेफ्टी टंकी’ बनाइनुलगायत कारणले पनि खलंगा जोखिममा परेको हो । उनले बजारमा ढल निकासको व्यवस्था नहुँदा पनि धेरै बस्तीहरु खतरामा परेको जनाए । भेरी करिडोरको बाइपासका रुपमा रहेको शान्तिचौतारा–थाप्लै हुँदै कालेगाउँ जोड्ने सडकको स्तरोन्नतिका क्रममा ग्याभिङ, नालीलगायत संरचना गुणस्तरीय नहुँदा पनि भूक्षय बढिरहेको उनी बताउँछन् । शान्तिचौतारादेखि थाप्लेचौरसम्मको सडकमा गएका पहिरोलाई दिगोरुपमा नियन्त्रण कम्तीमा १० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ११, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?