पढ्न पाउँदा मनै फुरुङ्ग- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढ्न पाउँदा मनै फुरुङ्ग

तुलाराम पाण्डे, राजबहादुर शाही

कालीकोट/मुगु — कालीकोटको पचालझरना–४, राम्नाकोटस्थित ज्ञानोदय माविकी शिक्षक अमनाकुमारी शाहीको कोरोना कहरले ठप्प दैनिकी अहिले फेरिएको छ । लामो समय घरायसी काममा व्यस्त भएकी उनी असोज १ देखि नियमित विद्यालय जान थालेकी छिन् । ‘पहिलो दिन विद्यालय आउँदा उत्साहसँगै कोरोनाको डर पनि थियो,’ उनले भनिन्, ‘अहिले पठनपाठन नियमित बनाएका छौं ।’

गाउँपालिकाले विद्यालयलाई ५ महिनासम्म क्वारेन्टाइनका रूपमा प्रयोग गरेको थियो । गत चैत ६ गते वार्षिक परीक्षा दिएपछि घरै बसेकी कक्षा १० की छात्रा एलिना सेजुवाल पनि विद्यालय आउन पाउँदा दंग छिन् । ‘मलाई त कतिखेर स्कुल आऊँजस्तो भएको थियो,’ उनले भनिन्, ‘धेरै पछि साथीभाइ र शिक्षकसँग भेट हुँदा रमाइलो लाग्यो ।’ घरमा खाना पकाउने, मकै गोड्ने, धान रोप्ने र गाई चराउनेलगायत काम गरेकी उनले आजभोलि नियमित गृहकार्य गरिरहेको बताइन् । विद्यालयमा क्वारेन्टाइन राखिए पनि यहाँ बसेका कसैमा पनि कोरोना संक्रमण नदेखिएकाले ढुक्कसाथ विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक ममराज सेजुवालले बताए । उनका अनुसार भदौ १९ गतेदेखि समुदायमा ‘होमवर्क’ दिन र सहजीकरण गर्न टोलटोलमा शिक्षक खटाइएको थियो । उनले असोज १ देखि नियमित कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

कोरोना कहरमा समुदायमा सचेतना भए पनि सामाजिक दूरी कायम गर्ने र सतर्कता अपनाउनेबारे खासै चासो नभएको शिक्षक जय सेजुवालले बताए । उनका अनुसार उच्च सतर्कतासहित विद्यालयमा पठनपाठन भइरहेको छ । ‘विद्यार्थीहरू घरबाट पनि आवश्यक सतर्कता अपनाएर आउँछन्,’ उनले भने, ‘हामीले पनि सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरिरहेका छौं ।’

गाउँपालिकाले आफ्नो सेवाक्षेत्रका २६ वटै विद्यालयलाई परिपत्र गरी असोज १ देखि पठनपाठन नियमित गर्न निर्देशन दिएको छ । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार आवश्यक सतर्कता अपनाउँदै बालबालिकाको सिकाइलाई ध्यान दिएर विद्यालय सञ्चालन गरिएको हो ।

पढाइ नहुँदा ज्याला–मजदुरीमा व्यस्त बनेका शुभकालिका–१, छातीस्थित जनता माविका कक्षा १० का छात्र सुजन सुनार पनि नियमित विद्यालय आउन थालेका छन् । ‘यसअघि पढेका धेरै कुरा बिर्सिइएका थिए,’ उनले भने, ‘विद्यालय खुल्दा धेरै खुसी लागेको छ, अब नियमित पढ्न पाइने भयो ।’ उनका अनुसार विद्यालयमा साबुनपानीले हात धुन, मास्क लगाउन र साथीहरूसँग अलि टाढा भएर बस्न शिक्षकहरूले सुझाएका छन् । शुभकालिका गाउँपालिकाले असारमा घरमै गएर विद्यार्थी भर्ना गर्न लगाएको थियो । भदौदेखि टोलटोलमा कक्षा सञ्चालन गरेको जनता मावि छातीका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए ।

स्थानीय तहले बन्द भएका विद्यालय खोल्ने निर्णय गरेपछि सामुदायिक विद्यालय भरिभराउ हुन थालेका छन् । घरमा पढ्ने वातावरण नहुँदा धेरै विद्यार्थीले अघिल्लो वर्ष पढेका अधिकांश कुरा बिर्सिएका शिक्षकहरूको अनुभव छ । राराकटियास्थित महादेव माविका प्र्रधानाध्यापक दुर्गबहादुर शाहीले सबैजसो विद्यार्थीलाई पुराना कक्षाका पाठहरूको पुनरावृत्ति गराउनुपर्ने भएको बताए ।

वर्षे बिदा हुने खाँडाचक्र, शुभकालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पलाँता र पचालझरनामा चैतसम्मै पढाइ हुन्छ । हिउँदे बिदा हुने महाबै गाउँपालिकाका १८ र तिलागुफा नगरपालिकाका ३२ विद्यालयमा पढाइ नभएर शैक्षिक सत्र फेरिन थालेको महादेव माविका प्रधानाध्यापक नरदीप शाहीले बताए । ‘यहाँ त मंसिरमै परीक्षा गर्नुपर्छ,’ उनले भने, ‘पुस–माघमा हिउँ पर्ने भएकाले हिउँदे बिदा हुन्छ तर अब पढाउने नै समय छैन ।’ उनले कोरोना महामारीका कारण एक वर्ष शैक्षिक क्षति भएको गुनासो गरे ।

कोरोना कहरमा औपचारिक रूपमा विद्यालय नखुले पनि दूरशिक्षा, अनलाइन कक्षा, रेडियो कक्षा र टोलमै शिक्षक अभियानजस्ता विधि अपनाइएको कालीकोटका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेश देवकोटाले बताए । उनका अनुसार क्वारेन्टाइन बनाइएका विद्यालयका शिक्षकलाई पठनपाठनको निरन्तरतासम्बन्धी अभिमुखीकरण गरिएको छ । ५२ विद्यालयमा सरसफाइ कर्नर स्थापना, मनोविमर्शकर्ता परिचालनलगायत काम भइरहेको उनले जानकारी दिए । कालीकोटका ७६ विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको इकाईले जनाएको छ । ‘अहिले सबै विद्यालयबाट क्वारेन्टाइन हटाइएको छ,’ उनले भने, ‘विद्यालय खुल्ने र पढाइ हुने दिनको हिसाब गरेर नयाँ तरिकाले बालबालिकालाई सिकाउन सके एक वर्षको शैक्षिक क्षति कम गर्न सकिन्छ ।’

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाले असोज पहिलो सातादेखि पठनपाठन सञ्चालन गरेको छ । भदौ २९ गते बसेको कार्यपालिका बैठकले निर्णय गरेपछि ६ महिनासम्म बन्द भएका विद्यालय खुलेका हुन् । सोरु, खत्याड र छायानाथरारा नगरपालिकामा भने विद्यालय खुलाउने निर्णय भएको छैन ।

सतर्कता अपनाएर असोज ५ देखि कक्षा १० सम्मको पठनपाठन थालिएको बुद्ध माध्यमिक विद्यालय, माग्रीका प्रधानाध्यापक टीका उपाध्यायले बताए । उनका अनुसार पढाइ सुरु हुनुअघि सबै गाउँमा घरदैलो अभियान चलाइएको थियो । पढाइ सुरु भए पनि पाठ्यपुस्तक नपुगेको उनले गुनासो गरे ।

उच्च सतर्कता अपनाएर पठनपाठन सञ्चालन गरिएको पुलुस्थित आवासीय माविका प्रधानाध्यापक कुशल शाहीले बताए । उनका अनुसार विद्यालय नखुल्दा विद्यार्थी १ सय ८४ दिनसम्म पठनपाठनबाट वञ्चित भएका थिए । ‘कक्षा सुरु हुनुअघि सेनिटाइजर प्रयोग गर्न लगाउने गरेका छौं,’ उनले भने, ‘सबै विद्यार्थी मास्क लगाएर मात्र विद्यालय आउँछन् ।’

सरकारले भदौ १९ गते वैकल्पिक शिक्षा निर्देशिका जारी गरेअनुसार सोही बमोजिम कक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखाप्रमुख सुवास रावलले बताए । विद्यालयलाई उच्च सतर्कता अपनाएर पठनपाठन सुरु गर्न निर्देशन दिइएको उनले बताए । ‘गाउँमा संक्रमण नदेखिएकाले खासै डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘पठनपाठनसँगै विद्यालयको प्रशासनिक कामकाज पनि सञ्चालन गरिएको छ ।’ उक्त गाउँपालिकामा १८ वटा विद्यालय छन् ।

प्रकाशित : आश्विन ११, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको हो । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी हुन् ।

मृतक ४७ वर्षीय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापीसमेत दिइएको र उपचारका सबै उपायहरु अपनाउँदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

मृतकमा पहिलेदेखि नै मधुमेहको रोग रहेको र उपचारका क्रममा फोक्सोको दुवै भागमा निमोनिया देखिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : आश्विन ११, २०७७ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×