दुर्गमका ७ सय घरमा बिजुली

राजबहादुर शाही

मुगु — नेरखोला लघु जलविद्युत् आयोजनाको निर्माण सकिएपछि हुम्लाको जैरगाउँसहित नेर र ताजागाउँका ७ सय २० घरमा बिजुली पुगेको छ ।

दुर्गमका ७ सय घरमा बिजुली

नेरखोलाबाट ६५ किलोवाटको विद्युत् उत्पादन भएपछि दुर्गमका बासिन्दाले पहिलोपल्ट विद्युत् सुविधा पाएका हुन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा नेर र ताजाका २ सय तथा हुम्लाको जैरगाउँका ५ सय २० घरधुरीमा विद्युत् सेवा पुगेको हो । बत्तीले गाउँ झिलिमिली बनेपछि विकास आएको अनुभूति भएको नेरगाउँका कलिमान नेपालीले बताए । ‘वर्षौंपछि सल्लाको दियालोबाट मुक्ति पाइयो,’उनले भने, ‘बिजुलीसँगै गाउँमा सुविधा र खुसी भित्रियो ।’ सल्लोको दियालो बाल्दा अधिकांस व्यक्तिमा दम, आँखा पाक्ने, शरीर चिलाउनेलगायत समस्या देखिएको उनको भनाइ छ ।

बत्ती पुगेपछि विद्यार्थीलाई पढ्न र घरायसी काम गर्न सजिलो भएको स्थानीय कमल नेपालीले बताए । उनका अनुसार विद्युत् सेवा पुगेपछि गाउँमा रेडियो र टेलिभिजन राख्‍ने लहर चलेको छ । बत्ती बलेपछि सामुदायिक वन संरक्षणमा टेवा पुगेको उनले जानकारी दिए ।

विभिन्न समस्याले ७ वर्ष लगाएर विद्युत् योजनाको काम सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर शाहीले बताए । उनका अनुसार २०७५ सालमा पावर हाउसमा बत्ती बले पनि बजेट अभावमा लाइन विस्तारमा ढिलाइ भएको थियो । पर्याप्त बजेट नहुँदा सबै मजदुरलाई ज्याला दिन नसकेको उनले गुनासो गरे ।

आयोजना निर्माणका लागि ३ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । जसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २ करोड ७० लाख, प्रदेश सरकारको ३० लाख, हुम्लाको सर्केगाड गाउँपालिकाले १० लाख, संसद क्षेत्र विकास कोषको १० लाख र मुगुको सोरु गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिले फोतुगाउाका २३ घरमा पनि विद्युत् सुविधा पुर्‍याउने गरी लाइन विस्तारको काम थालिएको जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?