सल्यानका सिकाइ केन्द्र बन्द - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानका सिकाइ केन्द्र बन्द 

विप्लव महर्जन

सल्यान — जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित सिकाइ केन्द्र बन्द भएका छन् । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले पठनपाठन रोक्न सूचना जारी गरेपछि टोलटोलमा सञ्चालित सिकाइ केन्द्र बन्द गरिएका हुन् ।

सरकारले बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन वैकल्पिक शिक्षण निर्देशिका जारी गरेपछि झण्डै २ सय ५० सामुदायिक विद्यालयले सिकाइ केन्द्र सञ्चालन गरेका थिए । सिकाइ केन्द्रमा दैनिक २ देखि ४ घन्टा नियमित पठनपाठन हुन्थ्यो । केन्द्र सञ्चालनका लागि सामुदायिक विद्यालयहरुले टोलटोलमा शिक्षक खटाएका थिए ।

प्रशासनले निर्देशन दिएपछि सिकाइ केन्द्रको पठनपाठन रोकिएको जनज्योति मावि फारुलाका प्रधानाध्यापक मीनबहादुर ओलीले बताए । उनका अनुसार विद्यालयले १२ सिकाइ केन्द्र स्थापना गरी ७ सय जना बालबालिकालाई पठनपाठन गराएको थियो ।

करिब एक दर्जन विद्यालयमा सञ्चालन गरिएको टोल शिक्षा अर्को निर्णय नहुञ्जलेसम्मका लागि बन्द भएको कालीमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । ‘पालिकाले तयार पारेको वैकल्पिक पाठ्यक्रमअनुसार टोलटोलमा शिक्षक खटाइ पठनपाठन सञ्चालन गरिएको थियो,’ उनले भने, ‘केही समयका लागि पठनपाठन स्थगित गरेका छौं ।’ शनिबार थप १४ जनामा संक्रमण देखिएपछि सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ६६ पुगेको छ । अहिलेसम्म ३ सय २ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

कमल पन्थी

बर्दिया — बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुखको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीका अनुसार विगत दुई वर्ष यता फोक्सोमा क्यान्सरबाट पीडित क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु भएको बताए ।

उनको थप उपचारका लागि नेपालगन्ज भेरी अस्पताल पुर्याएपछि गेटमै मृत्यु भएको स्वास्थ्य प्रमुख गिरीले जनाए । केही दिन अघि उनि भारतको दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि गएका थिए । उनी फर्केपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

५२ वर्षीय क्याम्पस प्रमुखको शनिबार बेलुकी नेपाली सेनाले बबई नदीको भादा घाट गुलरियामा शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । बर्दियामा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×