कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोल ढुवानी गर्न हेलिकप्टर

छपाल लामा

हुम्ला — हिल्दुम साना जलविद्युत् आयोजनाको लाइन विस्तार योजनामा पोल ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको छ । खार्पुनाथ गाउँपालिका–३, रायामा लाइन बिस्तार गर्न आयोजनाले ५० वटा पोल १० लाख रुपैयाँ भाडा तिरी हेलिकप्टरमार्फत ढुवानी गरेको हो ।

पोल ढुवानी गर्न हेलिकप्टर

पोलहरु सदरमुकाम सिमकोटबाट गाडीमा ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको दोभानमा पुर्‍याइएको थियो । दोभानदेखि रायासम्म पोल ओसार्न हेलिकप्टरलाई ७ मिनेट लागेको उपभोक्ता समिति अध्यक्ष टेकबहादुर वुढाले बताए । उनका अनुसार दोभानबाट रायागाउँको पैदल दूरी ३ घन्टाको छ ।

हेलिकप्टरबाट पोल ढुवानी गरिएकोप्रति स्थानीय युवाले भने बिरोध जनाएका छन् । ‘कि सदरमुकामबाटै हेलिकप्टरबाट ढुवानी गर्नुपर्थ्यो,’ स्थानीय लालधुन टमाटाले भने, ‘बीच बाटोबाट हेलिकप्टर प्रयोग गर्दा हाम्रो मजदुरी खोसियो ।’ कोरोना महामारीका कारण विकास निर्माणका काम नहुँदा अधिकांश युवा बेरोजगार बनेको उनको गुनासो छ । उपभोक्ता समितिले विकासको नाममा चरम लापरबाही र बजेटको दुरुपयोग गरेको उनले आरोप लगाए ।

राया पुर्‍याइएका पोलहरु नेपालगन्जबाट जहाजमा ढुवानी गरी सिमकोट ल्याइएको थियो । ७ मिनेटको दूरीमा एउटा पोल ढुवानी गर्न २० हजार रुपैयाँ खर्च भएको अध्यक्ष वुढाले बताए । ‘कठिन भूगोलका कारण भरिया प्रयोग गरी पोल गाउँ लग्न सकिएन,’ उनले भने, ‘मजदुरमार्फत ओसार्दा ढिलाइ हुने भएपछि बाध्य भएर हेलिकप्टर प्रयोग गरेका हौं ।’ उनले ढुवानी रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी दिइसकेको जानकारी दिए । उनका अनुसार पोल गाउँमा पुगेपछि गाड्ने कामलाई तीव्र पारिएको छ । योजनाको अधिकांश काम एक महिनाअघि नै सकिए पनि पोलकै कारण ढिलाइ भएकाले हतारमा हेलिकप्टरमार्फत ढुवानी गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सिमकोट गाउँपालिकामा पनि लाइन बिस्तारको काम जारी छ । ढुवानीसहित पोल र तार जडानका लागि आयोजनाले २५ लाख बजेट छुट्याएको उपभोक्ता समितिका अध्यक्ष वुढाले बताए । ‘एक महिनाभित्रै गाउँमा बिजुली बाल्ने गरी निर्माणलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘योजना सम्पन्न भएपछि गाउँका १ सय ५० घरमा विद्युत् सेवा पुग्नेछ ।’

प्रकाशित : आश्विन ९, २०७७ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?