१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्णालीमा दिगो विकासको आधार सूचक चिन्ताजनक

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णालीमा समग्र दिगो विकास आधार तथ्यांक सूचकहरुको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । बहुआयामिक गरिबी सूचांक ५१.२ प्रतिशत रहेको कर्णालीमा विकासका अन्य सूचकहरुको अवस्थामा गुणस्तरीय प्रगति हुन नसकेको प्रदेश योजना आयोगले जनाएको छ ।

आयोगका अनुसार कर्णालीको प्रतिव्यक्ति आय ६ सय ६ डलर छ । प्रदेशमा २७.१ प्रतिशत जनसंख्याको आय १.९ अमेरिकी डलरभन्दा कम रहेको आयोगको तथ्यांक छ । दिगो विकासका १७ लक्ष्यमध्ये पहिलो लक्ष्य सन् २०३० सम्म सबै प्रकारका गरिबीलाई सबै ठाउँबाट अन्त्य गर्ने हुँदा कर्णालीका आधा जनसंख्या गरिबीको रेखामुनि छन् ।

दिगो विकासका लक्ष्यले भोकमरी अन्त्य गर्ने प्रतिबद्धता गरिरहेका बेला कर्णालीवासीले पेटभरि खानसमेत नपाइरहेको अवस्था प्रतिवेदनमा औंल्याइएको हो । हिमाली जिल्लामा वर्षेनि खाद्य संकट पर्ने कर्णालीमा प्रत्येक वर्ष १६.८ हजार मेट्रिक टन खाद्यान्न अपुग भइरहन्छ ।्

करिब ६३.१ प्रतिशत जनसंख्याले उपभोगको २ तिहाइ खाद्यमा खर्चिने गरेको प्रतिवेदनमा जनाइएको छ । यहाँका २९ प्रतिशत प्रजनन उमेरका महिलामा रक्तअल्पताको व्यापकता रहेको आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले बताए । उनका अनुसार ५ बर्षभन्दा मुनिका ४८.४ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित छन् ।

कर्णालीमा हुने खाद्यसंकटकै कारण ५५.६ प्रतिशत जनसंख्यामा कुपोषण व्याप्त रहेको प्रतिवेदनमा भनिएको छ । ५ वर्षभन्दा मुनिका बालबालिका र नवजात शिशुको रोकथाम गर्न सकिने किसिमको मृत्युलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य भए पनि प्रतिहजार जीवित जन्ममा ५ भन्दा कम उमेरका बालबालिकाको मृत्युदर ५८ रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिहजार जीवित जन्ममा शिशुको मृत्युदर २९ रहेको पाइएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षणको तथ्यांक उल्लेख गर्दै उक्त प्रतिवेदनमा २३.६ प्रतिशत घरधुरी स्वास्थ्य संस्थाबाट ३० मिनेट भित्रको पहुँचमा रहेको बताइएको छ । भौगोलिक सूचना प्रणालीका अनुसार पनि ४६ प्रतिशत कर्णालीवासी वर्षायाममा एक घण्टाभन्दा बढी समय हिँडेर सबैभन्दा नजिकको स्वास्थ्य सेवामा पुग्नुपर्ने बाध्यता छ । कर्णालीका २८.३६ प्रतिशत जनसंख्या वर्षायामममा २ देखि ४ घण्टा हिँडेर स्वास्थ्य संस्था पुग्छन् । यस्तै ०.०७ प्रतिशत जनसंख्या अझै पनि वर्षातको समयमा ३२ घण्टाभन्दा बढि हिँडेर स्वास्थ्य संस्था पुग्छन् भने स्वास्थ्यचौकी नै जानका लागि १६ देखि ३२ घण्टासम्म हिँड्नेको जनसंख्या ०.८४ प्रतिशत छ ।

सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र आजीवन सिकाइलाई प्रवर्द्धन गर्ने दिगो विकासको लक्ष्य भइरहँदा कर्णालीमा १५–४९ वर्ष उमेर समूहका ६६.२ प्रतिशत साक्षर छन् । यस्तै, १५–४९ वर्षका पुरुषको साक्षरता ९१.५ प्रतिशत छ भने महिलाहरुको निकै कम अर्थात् ६६.१ प्रतिशत रहेको पाइएको छ । प्राथमिक तहमा कूल भर्नादर ९७ प्रतिशत रहँदा मावि तहमा भने ८१ प्रतिशत मात्र रहेको आयोगले जनाएको छ ।

लैंगिक समानता हासिल गर्ने र महिलाहरूलाई सशक्त तुल्याउने दिगो विकासको लक्ष्य भए पनि नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार तलबबिनाको घरायसी काम वा अन्य सेवामा कर्णालीका १३.२ प्रतिशतल पुरुषले समय खर्चिदा २४ प्रतिशत महिलाले उक्त काममा समय खर्चिएको पाइयो । यहाँ ८.५७ प्रतिशत घरधुरीका महिलाको मात्रै जमिनमा स्वामित्व छ भने ४ प्रतिशत महिला मात्रै सम्पतिमा स्वामित्वमा छन् ।

प्रदेश योजना आयोगका अनुसार अब कर्णालीका हरेक योजनामा आन्तरिकीकरण गरिनेछ । आयोगका सदस्य रोकायाले कर्णालीमा हुने हरेक विकासलाई दिगो विकासका लक्ष्यसँग जोडेर गरिने बताए ।

पञ्चवर्षीय योजनामा कर्णाली सरकारले ५ वर्षभित्र यहाँको गरिबी आधा घटाउने लक्ष्य राखेको छ । हाल कर्णालीको कर्णालीको बहुआयामिक गरिबी ५१.२ प्रतिशत रहेकोमा ५ वर्षभित्र २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको हो । ०८०/८१ सम्म प्रतिव्यक्ति आय १ हजार १ सय ४७ पुर्‍याउने लक्ष्यसहित पञ्चवर्षीय योजना तयार गरिएको सदस्य डा. रोकायले बताए ।

यस्तै कर्णाली सरकारले २५ वर्षमा विकास गर्न ३ चरणमा कार्यविभाजन गरी विकासका मोडल बनाउनेछ । प्रथम पञ्चवर्षीय योजना पहिलो चरण, १० वर्षीय योजना दोस्रो चरण र अर्को १० वर्षीय योजना तेस्रो चरण गरी विकास मोडल बनाउने उनले जानकारी दिए । प्रतिवेदनमा दिगो विकास लक्ष्यका सूचकहरूलाई, सान्दर्भिक भएसम्म, आयस्तर, लिंग, उमेर, जाती, सम्प्रदाय, बसाइँसराइको स्थिति, फरक क्षमता तथा भौगोलिक अवस्थिति अनुरूप छुट्याउन सुझाव दिइएको छ ।

आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरुमा आधारित कर्णालीको आधार तथ्यांक प्रतिवेदनमा सबै सूचकहरुको तथ्यांक नपाइएको उल्लेख छ ।

दिगो विकासका लक्ष्यमा समावेश ४ सय ७९ सूचकमध्येबाट कर्णालीले ३ सय ५० सूचकहरु छानेकोमा १ सय २० सूचकहरुसँग मात्रै सम्बन्धित तथ्यांक पाइएको आयोगका सदस्य रोकायाले बताए । ‘सबै सूचकहरुको तथ्यांक नभएकाले हामीले प्रतिवेदनमा उल्लेख गरेका छैनौं,’ उनले भने, ‘सबै सूचकका तथ्यांकका लागि अब हामीले कुर्ने भनेको आगामी वर्षको जनगणना नै हो ।’

प्रकाशित : आश्विन ८, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?