सुर्खेतबाटै लाइसेन्स वितरण सुरु

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमै पहिलोपटक यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उक्त सेवाको उद्घाटन गरेका हुन् । 

सुर्खेतबाटै लाइसेन्स वितरण सुरु

गत माघमा यातायात कार्यालयले लाइसेन्सका लागि अनलाइन फारम खोली प्रक्रिया सुरु गरेको थियो । सम्पूर्ण चरण पार गरेका सवारी चालकलाई बिहीबारदेखि लाइसेन्स दिन थालिएको कार्यालयप्रमुख आनन्द चपाईंले जानकारी दिए । उनका अनुसार कार्यालयले मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस मिनिबस र ट्रकको लाइसेन्स दिनेछ । अन्य लोडर, एक्स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभाव रहेको उनको भनाइ छ । ‘साना सवारी लिएको दुई वर्षमा ठूलो सवारीको लाइसेन्स लिन पाइन्छ,’ उनले भने, ‘ठूला सवारीको लाइसेन्सका लागि पनि यो कार्यालयबाट प्रक्रिया अगाडि बढाउँछौं ।’

यातायात सेवा कार्यालयले यसअघि रुट जारी तथा नवीकरण, ब्लुबुक नवीकरण, जाँच–पास, लाइसेन्स नवीकरण र सवारी नामसारी र दर्ता गर्ने काम गर्दै आएको थियो । सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि कर्णालीका नागरिकलाई चालक अनुमतिपत्र लिन नेपालगन्जमा रहेको साबिकको अञ्चल कार्यालय जानुपर्ने बाध्यता टरेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?