सुर्खेतबाटै लाइसेन्स वितरण सुरु- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतबाटै लाइसेन्स वितरण सुरु

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमै पहिलोपटक यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उक्त सेवाको उद्घाटन गरेका हुन् । 

गत माघमा यातायात कार्यालयले लाइसेन्सका लागि अनलाइन फारम खोली प्रक्रिया सुरु गरेको थियो । सम्पूर्ण चरण पार गरेका सवारी चालकलाई बिहीबारदेखि लाइसेन्स दिन थालिएको कार्यालयप्रमुख आनन्द चपाईंले जानकारी दिए । उनका अनुसार कार्यालयले मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस मिनिबस र ट्रकको लाइसेन्स दिनेछ । अन्य लोडर, एक्स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभाव रहेको उनको भनाइ छ । ‘साना सवारी लिएको दुई वर्षमा ठूलो सवारीको लाइसेन्स लिन पाइन्छ,’ उनले भने, ‘ठूला सवारीको लाइसेन्सका लागि पनि यो कार्यालयबाट प्रक्रिया अगाडि बढाउँछौं ।’

यातायात सेवा कार्यालयले यसअघि रुट जारी तथा नवीकरण, ब्लुबुक नवीकरण, जाँच–पास, लाइसेन्स नवीकरण र सवारी नामसारी र दर्ता गर्ने काम गर्दै आएको थियो । सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि कर्णालीका नागरिकलाई चालक अनुमतिपत्र लिन नेपालगन्जमा रहेको साबिकको अञ्चल कार्यालय जानुपर्ने बाध्यता टरेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

ओखलढुंगाका २६ संक्रमित कोरोनामुक्त

कान्तिपुर संवाददाता

ओखलढुंगा — कोरोना संक्रमण भइ आइसोलेसनमा रहेका जिल्लाका २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कांग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार, उपसभापति तेजेन्द्र खनाल, जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठसहित २६ जना एकसाथ कोरोना संक्रमण मुक्त भएका छन् ।

दोस्रो पटकको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । १८ दिनको आइसोलेसन बसाइपछि उनीहरु आज घर फर्कने भएका छन् । उनीहरुलाई सामुदायिक अस्पताल ओखलढुंगा र जिल्ला अस्पताल रुम्जाटारमा उपचार गरिएको थियो । उनीहरुलाई बिहीबार नै घर पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए ।

आइसोलेसनमा रहेका सक्रिय संक्रमितमध्येका ४ जनामा भने संक्रमण यथावत् देखिएको छ । उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरि ६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा राखिएकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार उनीहरुलाई आइसोलेसनमा राख्नका लागि व्यवस्थापनको काम भइरहेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×