२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुगुमकार्मारोङ गाउँपालिकामा पठनपाठन सुरु

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकामा पठनपाठन सुरु गरिएको छ । गाउँपालिकाको भदौ २९ बैठक बसेर विद्यालय खुलाउने निर्णय गरेपछि कोरोना महामारीका कारण ६ महिनादेखि बन्द भएका विद्यालयमा साेमबारबाट पठनपाठन सुरु गरिएको हो । सोरु खत्याड र छायाँनाथ रारा नगरपालिकामा भने विद्यालय नखुलाइने बताइएको छ ।

सतर्कता अपनाएर असोज ५ गतेबाट कक्षा १ देखि १० सम्म पठनपाठन सुरु गरिएको बुद्ध माध्यमिक विद्यालय माग्रीका प्रधानाध्यापक टिका उपाध्यायले जानकारी गराए ।

पढाइ सुचारु गर्ने विषयमा दुई तीन घर दैलो कार्यक्रम गरिएको र असोज ५ गतेबाट कक्षा सञ्चालन गरिएको उनको भनाइ छ । पढाइ सुरु गरेपनि विद्यालयमा पाठ्यपुस्तक नपुगेको उपाध्यायले बताए ।

गाउँपालिकाले विद्यालय खुलाउने निर्णय गरेपछि आउँदो आइतबारदेखि वैकल्पिक सिकाइ कक्षा सुरु गर्ने तयारी गरेको पूलुस्थित आवासिय विद्यालयका प्रधानाध्यापक कुशल शाहीले बताए ।

करिब १ सय ८४ दिनसम्म पढाईबाट वञ्चित भएका विधार्थीहरु विद्यालय खुलेपछि कापीकलम झोला बोकेर स्कुल आउन थालेको शिक्षकहरुले बताएका छन् ।

कक्षा सुरु हुनुभन्दा पहिले विधार्थीलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाएर कक्षा सुुरु गर्ने गरिएको बुद्ध माध्यमिक विद्यालयका शिक्षकहरुको भनाइ छ ।

नेपाल सरकारले भदौ १९ गते वैकल्पिक शिक्षा निर्देशिका जारी गरे अनुसार सोही बमोजिम विद्यालयमा वैकल्पिक सिकाई कक्षा सञ्चालन गर्न गाउँपालिकाको निर्णय गरेको मुगुमकार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए ।

एक बस्तीबाट अर्को बस्तीमा जान नसक्ने अवस्था रहेको हुँदा विद्यालय खुलाउँदा कुनै फरक नपर्ने रावलले बताए ।

मुगुमकार्मारोङ गाउँपालिकामा विद्यालय सञ्चालनसँगै प्रशासनिक कामकाज पनि सुरु गरिएको छ । एक आवासिय विद्यालय, एक माध्यमिक विद्यालयसहित १८ वटा विद्यालय रहेका छन् ।

मुगुमकार्मारोङ गाउँपालिकाले विद्यालय खोल्न किन हतार गर्‍यो भन्ने विषयमा त्यहाँका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग जानकारी लिने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए । ‘भोलि कोरोना जोखिम बढयो भने समस्या हुन्छ ।,’ प्रजिअले भने ।

प्रकाशित : आश्विन ६, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?