रारामा साइकल मार्ग निर्माण सुरु

राजबहादुर शाही

मुगु — कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारामा साइकलमार्ग निर्माण थालिएको छ । ४२ करोड लागत अनुमान गरिएको उक्त मार्गका लागि चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

रारामा साइकल मार्ग निर्माण सुरु

रारामा साइकल रोड निर्माण गर्न प्रदेश सरकारले ३ वर्षदेखि बजेट विनियोजन गरिरहेको थियो । तर प्राविधिक कारणले वर्षेनि रकम फ्रिज हुँदै आएको थियो । शनिबार साइकल मार्गको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब यहाँ आउने पर्यटकले साइकलबाटै रारातालको फन्को मारेर आनन्द लिनसक्ने बताए । ‘राराताल ‘हिमालको हिरा’ हो, अब यहाँ थप पर्यटकीय आकर्षण हुनेछ,’ उनले भने, ‘साइकलमार्गले बाह्य पर्यटकलाई आकर्षित गर्नेछ भने आर्थिक कारोबारमा पनि वृद्धि हुनेछ ।’ यसबाट स्थानीयबासीले स्थानीयस्तरमै रोजगारी पनि पाउने उनले बताए ।

समुद्र सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा १४ किलोमिटर लम्बाइ र १.६ मिटर चौडाइको साइकल रोड बन्नेछ । योजनाका लागि प्रदेश सरकारले बहुवर्षीय कार्ययोजना तयार पारेको छ । चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ छुट्याइएको छ । निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले कोरोनाको जोखिम सकिएसँगै कामलाई तीव्रता दिइने जनाएको छ । प्रदेश सरकारले ताल वरिपरि १४ किलोमिटरको साइकलमार्ग निर्माण गर्न ४२ करोड रुपैयाँको डीपीआर गरेको छ ।

रारामा अहिले डुंगा र घोडाबाहेक अरु कुनै मनोरञ्जनका साधन छैनन् । साइकल रोड निर्माणले राराको पूर्वाधार विकासमा उत्साह थपेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत विष्णुप्रसाद थपलियाले बताए । उनका अनुसार गत वर्ष रारामा मचान, शौचाय, फोहोर व्यवस्थापन केन्द्र, सूचना केन्द्रलगायत संरचना निर्माण गरिएका छन् । २०२० सालमा मुर्मा, झयारी, कार्कीबाडा, श्रीनगर, भामबाड र तलितुमका बासिन्दाले श्रमदान गरी राराताल वरिपरि घोडेटो बाटो निर्माण गरेका थिए । अहिले त्यही बाटोलाई पर्यटकले प्रयोग गरिरहेका छन् ।

रारा साइकलमार्ग शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शाहीसँगै आन्तरिक मामिलामन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रारा पुगेका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?