विद्यालय नखुलेपछि टोलटोलमै पुगेर पढाइ

विप्लव महर्जन

सल्यान — कोरोनाका कारण महिनौंदेखि पढाइ ठप्प भएपछि दार्मा गाउँपालिकाको फारुलास्थित जनज्योति माविले टोलटोलमा सिकाइ केन्द्र स्थापना गरेर पढाउन थालेको छ । विद्यालयमा सामूहिक रूपमा पढाउन सकिने अवस्थान नरहेपछि टोलटोलमा सिकाइ केन्द्र राखेर थोरै–थोरै विद्यार्थीलाई पढाउन थालिएको हो ।

विद्यालय नखुलेपछि टोलटोलमै पुगेर पढाइ

प्रावि तहमा चार र निमावि तथा माविमा आठ गरी १२ सिकाइ केन्द्र सञ्चालन गरेर असोज १ गतेदेखि पढाइ थालिएको प्रधानाध्यापक मीनबहादुर ओलीले बताए । गाउँपालिकाका डाँडागाउँ, दुबाङ, ढाडापीपल, बजारी, रागेडाँडा रातामाटा, झुलेरी, झ्यामबारी, घुसखोला, झ्यारीबाङ र ज्यामिरेचौरमा सिकाइ केन्द्र स्थापना गरिएको छ । एक केन्द्रमा प्रावि तहमा २५ र निमावि तथा माविमा ८५ जनासम्म विद्यार्थी राखेर पढाउन सुरु गरिएको ओलीले जानकारी दिए । उक्त विद्यालयमा ९ सय विद्यार्थी छन् । एक सिकाइ केन्द्रमा दुई शिक्षकले चार घण्टा विद्यालयले तयार पारेको वैकल्पिक पाठयक्रमका आधारमा पढाइरहेको ओलीले जानकारी दिए ।

केन्द्रमा शनिबारबाहेक सबै दिन पढाइ हुने गरेको विद्यालयका शिक्षक वीरेन्द्र चन्दले बताए । ‘बालबालिकाले धेरै कुरा बिर्सिसकेका थिए,’ उनले भने, ‘कक्षा सञ्चालन गरेपछि पुनः सिक्न थालेका छन् । उनीहरूको आनीबानीमा समेत सुधार आएको छ ।’

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकामा रहेका ३३ विद्यालयमै सिकाइ केन्द्र स्थापना गरेर टोलटोलमा पढाउने तयारी भइरहेको बताए । कतिपय विद्यालयमा अहिले पनि क्वारेन्टाइन तथा आइसोलेसन रहेकाले समुदायमा पढाउनुपरेको उनले जानकारी गराए ।

प्रकाशित : आश्विन ६, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?