ठेकेदारको लापरबाहीले बेलीब्रिज निर्माण अलपत्र

राजबहादुर शाही

मुगु — गमगढी–सोरु ग्रामीण सडकअन्तर्गत मुगु कर्णाली नदीमा निर्माणाधीन बेलीब्रिज एक वर्षदेखि अलपत्र परेको छ । भुक्तानी नपाएको भन्दै ठेकेदारले बीचैमा काम छोडेपछि पुल निर्माणको काम अलपत्र परेको हो ।

सोरु गाउँपालिकासम्म आउजाउ गर्ने सवारी साधन र यात्रुको सहजताका लागि पुल निर्माणको काम थालिएको थियो । पुल निर्माणको जिम्मा जल्प/रवी/चक्र जेबीले लिएको छ । एक वर्षभित्रै निर्माणको काम सक्ने गरी कम्पनीले अघिल्लो असारमा गाउँपालिकासँग ३ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

नदीमा पुल नबन्दा गमगढीदेखि सोरु पुग्न दुईवटा जिप फेर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल शाहीले बताए । ‘पुल निर्माण भए एउटै गाडीमा घर अगाडी नै पुगिन्थ्यो,’ उनले भने, ‘यात्रुबाहक सवारी साधनले पुल नहुँदा झन सास्ती खेप्नुपरेको छ ।’

उनका अनुसार यात्रुहरु गमगढीदेखि तारापानीसम्म एउटा जिपमा र सिपदेखि सोरुकोटसम्म अर्को गाडीमा चढ्नुपर्ने बाध्यता छ । दुईवटा गाडी फेर्दा भाडा पनि महँगो भएको उनले गुनासो गरे । गमगढीदेखि सोरु जाने यात्रुले अहिले १ हजार २ सय रुपैयाँ भाडा तिरिरहेका छन् ।

गाउँपालिकाले दिनुपर्ने बाँकी रकम भुक्तानी नगर्दासम्म पुल निर्माण सुचारु नगर्ने ठेकेदार कम्पनीको अडान छ । ठेकेदारले यसअघि नै २ करोड २ लाख रकम लिइसकेका छन् । गत साउन महिनामा बाँकी रकम भुक्तानीका लागि निवेदन र बिल–भरपाई पेश गरेपनि गाउँपालिकाले बेवास्ता गर्दा पुल निर्माण रोकिएको कम्पनीका प्रोपराइटर हेमराज शाहीले बताए । उनका अनुसार बेलीब्रिजका लागि सबै निर्माण सामग्री योजनास्थलमा आइपुगेको छ । ‘नदी वारिपारि पर्खाल र ड्यामसमेत बनाइसकेका छौं,’ उनले भने, ‘गाउँपालिकाले भुक्तानी नदिँदा दक्ष कामदारलाई पारिश्रमिक दिन समस्या भएपछि निर्माण रोकिएको हो ।’

भुक्तानी पाए एक महिनाभित्रै पुल निर्माण सकिने उनको दाबी छ । मुगमकार्मारोङ गाउँपालिकास्थित लुम्स बेलीब्रिजको १२ लाख रुपैयाँ अझै भुक्तानी नपाएको उनले गुनासो गरे । गाउँपालिकाले भने ठेकेदारले काम सुरु गरेपछि मात्र भुक्तानी प्रक्रिया सुरु हुने जनाएको छ ।

ठेकेदारको लापरबाहीले वर्षायाममा यात्रुले सास्ती भोगिरहेको सोरु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र शाहीले बताए । ‘ठेकेदारले लिनुपर्नेभन्दा बढी रकम यसअघि नै लिइसकेका छन्,’ उनले भने, ‘सरकारी नियमअनुसार पुल निर्माणको काम सकिएपछि मात्र अन्तिम किस्ता भुक्तानी हुनेछ ।’

प्रकाशित : आश्विन ५, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?