डोल्पामा विद्यालय भेलामा झडप, वडाध्यक्षसहित ८ जना घाइते- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा विद्यालय भेलामा झडप, वडाध्यक्षसहित ८ जना घाइते

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ स्थित तेन्जिङ नोर्के आधारभूत विद्यालयमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको झडपमा वडाध्यक्ष छेवाङ गुरुङसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार झडपमा वडाध्यक्षका छोरा ३५ वर्षीय गुरु गुरुङ, ६० वर्षीया निमाछिरिङ घर्ती, २७ वर्षीय लारकर रोकाय र ३३ वर्षकी लामजुङ गुरुङ रोकाय घाइते भएका छन् । त्यस्तै ३५ वर्षीय लालमान रोकाय, ४० वर्षीया सेराप गुरुङ र २२ वर्षीया सीता गुरुङ पनि घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए । उनका अनुसार अधिकांशको टाउको, हात र खुट्टामा चोट लागे पनि सबैको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार विद्यालयमा भइरहेको छलफलमा आपसमा विवाद बढ्दै गएपछि वडाध्यक्ष पक्षधर र वडा सदस्य खुमचुङ रोकाय पक्षबीच ढुंगा हानाहान भएको हो । खुमचुङ छार्कातासोङ गाउँपालिकाका न्यायिक समिति सदस्यसमेत हुन् । घाइतेमध्ये वडाध्यक्ष छेवाङ र उनका छोरा गुरु उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । अरुको घाउ जाँच गरिएको र अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

तर घाइते लामजुङ गुरुङ रोकायले भने आफूमाथि गाउँपालिका अध्यक्ष सेनाङ गुरुङलगायतले कुटपिट गरेको बताएकी छिन् । जिल्ला अस्पतालमा उपचारपछि उनको टाउकोमा एउटा टाँका लगाइएको छ । ५ महिनाकी सुत्केरी महिलामाथि अध्यक्षले कुटपिट गरेकाले कारबाही हुनुपर्ने उनको माग छ ।

गाउँपालिका अध्यक्ष गुरुङले भने आफूमाथि गलत आरोप लगाइएको बताए । विद्यालयमा छलफल भइरहेको ठाउँमा आफू पुग्नुअघि नै ढुंगा हानाहान भएको उनको दाबी छ । ‘महिलामाथि मैले आक्रमण गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘यदि त्यसो हो भने पनि कुनै प्रमाण भेटिएला नि !’ उनले घटनाप्रति दु:ख लागेको बताए । विद्यालयको भेलामा गाउँपालिकाको विकास निर्माण विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

साल्टले ल्यायो साढे १७ हजार मेट्रिक टन युरिया

वीरगन्ज शाखामा आइसकेको युरिया मल झन्डै ६० जिल्लामा परिचालन
कान्तिपुर संवाददाता

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट करिब साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको छ ।

कर्पोरेसनले आयात गर्न लागेको ३२ हजार मेट्रिक टन युरियामध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाहमा र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए ।

वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको सूचना आएको लामिछाने बताउँछन् । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमश: आइरहेको छ ।

वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको लामिछानेले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्राय: जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए ।

कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।

उक्त बन्दरगाह नेपालका लागि खुला नरहेकाले त्यहाँ अड्किएको मल सोझै नेपाल ल्याउन सकिएको थिएन । पछि मल बोकेका जहाज कोलकाता बन्दरगाह फिर्ता लगेर वीरगन्ज ल्याउन थालिएको हो । तर कोलकातामा पानी परेकाले वीरगन्ज आएको पहिलो लटको मल भिजेको थियो ।

प्रकाशित : आश्विन ४, २०७७ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×