नेपालगन्जबाट जहाजमा हुम्ला पुगेकी महिलामा कोरोना- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जबाट जहाजमा हुम्ला पुगेकी महिलामा कोरोना

छपाल लामा

हुम्ला — शनिबार बाँकेको नेपालगन्जबाट समिट एयरको जहाजमा हुम्ला सदरमुकाम सिमकोट आएकी सर्केघाड गाउँपालिका–५ की २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कोहलपुरमा शुक्रबार गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका अधिकृत नरेशबावु श्रेष्ठले बताए । उनका अनुसार संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ थालिएको छ । शनिबारको उडानमा उनीसहित १२ जना यात्रु हुम्ला आएका थिए ।

संक्रमण देखिएकी महिला अन्य ४ जना यात्रुसहित सिमकोटमा एक रात बास बसेर आइतबार बिहान माउन्टेन एयरको हेलिकप्टरमार्फत सर्केघाड गएकी छिन् । हुम्लामा पहिलोपल्ट कोरोना संक्रमण देखिएको छ । पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरि उच्च सतर्कता अपनाइएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।

प्रकाशित : आश्विन ४, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ मा एकैदिन २ सय ५ संक्रमित निको भए

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा आइतबार एकैदिन २ सय ५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ८८ पुगेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेश ५ मा आइतबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार १ सय ५५ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार रुपन्देहीमा २३, बाँकेमा २६, रुकुमपूर्व ८, पाल्पा ४, नवलपरासी पश्चिम ३, बर्दिया र दाड.मा २, कपिलवस्तु र अर्घाखाँचीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये २ हजार ३ सय ३९ जना उपचाररत छन् । तीमध्ये २ सय ३८ जना लक्षणसहितका बिरामी हुन् । संक्रमितमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेशमा ५६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : आश्विन ४, २०७७ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×