मुगुका खाद्य डिपो तीन महिनादेखि रित्तै- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुका खाद्य डिपो तीन महिनादेखि रित्तै

राजबहादुर शाही

मुगु — मुगुका सबै खाद्य डिपो रित्तिएको ३ महिना बित्दासमेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न ढुवानी गरेको छैन ।

खाद्यान्न ढुवानी नहुँदा स्थानीयबासी बजारको महँगो चामल ढुवानी गरी छाक टार्न बाध्य छन् ।

चामल ढुवानी नभएपछि गत असारदेखि सोरुकोट, श्रीकोट, पूलु, कालै र रातापानी खाद्य डिपो रित्तिएका हुन् । कम्पनीको शाखा कार्यालय गमगढीमा आपतकालीन अवस्थाका लागि ५ सय क्विन्टल खाद्यान्न मौज्दात राखिएको छ ।

चालु आर्थिक वर्षको खाद्यान्नको कोटा स्वीकृत नहुँदा खाद्य गोदाम रित्तिएका हुन् । भदौ पहिलो साता बसेको जिल्ला खाद्य सुरक्षा समितिको वैठकले तत्काल ६ हजार क्विन्टल खाद्यान्न माग गरेको थियो ।

कोटा स्वीकृतिमा ढिलाइ हुँदा खाद्यान्न ढुवानीको टेन्डर हुन नसकेको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार मुगुमा खाद्यान्न ढुवानीका लागि सुर्खेतबाट खड्का निर्माण सेवा र बर्दियाको राजापुरबाट वराल ढुवानी सेवाले ठेक्का सम्झौता गरेका छन् ।

खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको स्थानीय कमल शाहीले गुनासो गरे ।

प्रकाशित : आश्विन ३, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ मा थपिए १ सय संक्रमित

अमृता अनमोल

बुटवल — रुपन्देहीमा ५९ सहित प्रदेश ५ मा शनिबार एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दाङमा २८, बाँकेमा २५, बर्दियामा ७, प्युठान ५, कपिलवस्तुमा ४, पाल्पा र गुल्मीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ९ सय ८९ पुगेको छ ।

संक्रमित मध्ये २ हजार ३ सय ५१ जना उपचारका क्रममा छन् । तीमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेश ५ मा ५५ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा ६ हजार ४ सय ८३ जना संक्रमित निको भएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×