कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परीक्षणमा चाप, कन्ट्याक्ट ट्रेसिङमा चुनौती

चाँदनी कठायत

वीरेन्द्रनगर — समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कर्णालीका प्रयोगशालामा आरटी–पीसीआर परीक्षणमा चाप बढ्दै गएको छ । सुर्खेत, दैलेख, जुम्ला र रुकुममा रहेका प्रयोगशालामा दैनिक परिक्षणमा चाप बढेको हो ।

परीक्षणमा चाप, कन्ट्याक्ट ट्रेसिङमा चुनौती

समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत उनीहरुको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पनि पीसीआर जाँच गर्न थालिएपछि परीक्षणमा चाप बढेको हो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार हप्तामा २ पटक समुदायमा स्वाब संकलन गर्ने गरिएको छ ।

जनस्वास्थ्य प्रमुख चेतननिधी वाग्लेले संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका र सिल भएका विभिन्न कार्यालयका कर्मचारीको पनि पीसीआर टेष्ट गर्ने गरिएको बताए । ‘परिक्षणको काम रोकिएको छैन,’ उनले भने, ‘संक्रमितको संख्या बढ्दै गएकाले कन्ट्रयाक्ट ट्रेसिङ पनि बढाइरहेका छौँ, त्यसैले पनि परीक्षणमा चाप धेरै छ ।’

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बीचमा केही सुस्ताएको परीक्षण पछिल्लो समय तीव्र पारिएको बताए । ‘रिपोर्ट पोजिटिभ आएको दिन अलि कम हुन्छ,’ उनले भने, ‘नेगेटिभ आएको दिन अलि बढी टेष्ट हुने गरेको छ ।’ उनका अनुसार सुर्खेतस्थित प्रयोगशालामा दैनिक ३ सयदेखि साढे ४ सय स्वाब परीक्षण भइरहेको छ ।

दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले स्वाब संकलन भएअनुसार परीक्षण पनि भइरहेको जनाए । उनका अनुसार मेसिनले दैनिक ९६ स्वाब टेष्ट गर्ने भए पनि स्वाब संकलन भएअनुसार दैनिक ४० देखि ६० स्वाब परीक्षण भइरहेको छ ।

६८ हजार स्वाब परीक्षण

अहिलेसम्म कर्णालीका १० वटै जिल्लाबाट संकलन गरिएका ६८ हजार ८ सय १० स्वाब परीक्षण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा १९ हजार ३ सय ८७ स्वाब परीक्षण भएको छ ।

जुम्लामा १० हजार २ सय ७९, दैलेखमा ९ हजार २ सय ७९, रुकुम पश्चिममा ६ हजार ३ सय ५२, जाजरकोटका ६ हजार ७४, कालिकोटका ५ हजार ६६ र सल्यानका ३ हजार ५ सय ६१ स्वाब परीक्षण भएको छ । यस्तै, हुम्लाका २ हजार ५ सय ३५, मुगुका २ हजार ५ सय ६२, डोल्पाका १ हजार ४ सय ५२ र अन्य स्थानका २ हजार २ सय ६३ जनाको स्वाब परीक्षण भएको निर्देशनालयले जनाएको छ ।

ट्रेसिङमा चुनौती

कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरुले आफ्नो सम्पर्कमा रहेकाहरुको जानकारी दिन नखोज्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ ।

‘धेरैजसो स्व:स्फुर्त स्वाब परीक्षणका लागि आउँछन्,’ जनस्वास्थ्य प्रमुख वाग्लेले भने, ‘तर केही संक्रमितले नै मेरो सम्पर्कमा कोही छैन भन्दा समस्या भइरहेको छ ।’ उनले लक्षण देखिएका र अन्य दीर्घ रोगी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीको अनिवार्य परीक्षण गरिरहेको बताए । उनका अनुसार कर्णालीमा अहिले लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् ।

सुरुवाती चरणमा एक सय जना मध्ये दुई/तीन जनामा मात्रै लक्षण देखिने गरेकोमा अहिले सय जनामध्ये २०/३० जनालाई नै लक्षण देखिन थालेको वाग्लेले जानकारी दिए । ‘अब आईसीयू र भेन्टिलेटर थप गर्नुपर्छ,’ उनले भने, ‘जटिल खालका बिरामी बढिरहेकाले समयमै स्वास्थ्य उपकरण थप गर्न ध्यान दिइएन भने समस्या थप जटिल बन्छ ।’

जिल्ला अस्पताल, दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले सरकारले ल्याएको नीतिका कारण स्वास्थ्यकर्मी नै अन्यौलमा परेको बताए । ‘लक्षण देखिएकाहरुको परीक्षण गर्न भनेको छ,’ उनले भने, ‘तर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको लक्षण नदेखिए पनि परीक्षण गर्ने वा नगर्ने भन्नेमा दुविधा देखियो ।’

प्रकाशित : आश्विन १, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?