१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिल्सा नाका बन्द भएपछि रोजीरोटी खोसियो

छपाल लामा

हुम्ला — कोरोना महामारीका कारण चिनियाँ नाका हिल्सा बन्द भएपछि हुम्लाबासीको रोजीरोटी खोसिएको छ । हुम्लाको माथिल्लो भेगका बासिन्दा वर्षायाममा तिब्बत गएर मजदुरी गर्छन् भने वर्षभरि पुग्ने खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिद गरी ल्याउँछन् ।

चीनले नाका बन्द गरेपछि यस वर्ष हुम्लीहरु हिल्सा जान पाएनन् । हुम्लाका बासिन्दाले स्थानीय स्तरमा उत्पादन हुने जडीबुटीसमेत हिल्सा गएर बिक्री गर्ने गरेका थिए । ‘टिपेको जडिबुटी पनि त्यसै खेर गयो,’ नाम्खा गाउँपालिकाका तक्दिर लामाले भने, ‘न मजदुरी गर्न पाइयो, न सामान नै खरिद गर्न नै ।’ उनले हिल्साबाट खाद्यान्न ल्याउन नपाउँदा कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले सताएको बताए ।

उत्पादन न्यून हुने नाम्खाका बासिन्दा वर्षौदेखि तिब्बती खाद्यान्नमा निर्भर छन् । सरकारी अनुदानको चामल नआउँदा चिनियाँ खाद्यान्न उपभोग गर्नुपरेको लिमीका पाल्जोर तामाङले बताए । ‘हिल्साभन्दा सदरमुकाम सिमकोट टाढा पर्छ,’ उनले भने, ‘असोजबाटै हिउँ पर्ने भएकाले यस वर्ष गाउँमा खाद्यान्न संकट हुने देखियो ।’ उनका अनुसार नाम्खाका युवाहरु वर्षेनि वर्षायामका ६ महिना हिल्सामा मजदुरीका लागि जाने गरेका थिए । चीनको ताक्लाकोटमा ६ महिना काम गर्दा एक व्यक्तिले १० लाख रुपैयाँसम्म कमाउने गरेको उनले जानकारी दिए ।

स्थानीय युवा गिरमेत लामाका अनुसार चिनियाँ नाका बन्द भएपछि नाम्खा गाउँपालिकाका बासिन्दाको आम्दानी शून्यजस्तै छ । ‘ मजदुरी गर्नेदेखि जडिबुटीको व्यापार गर्नेहरु सबै गाउँमै छन्,’ उनले भने, ‘कमाइ नहुँदा अधिकांश युवालाई परिवार पाल्न समस्या भएको छ ।’ उनले गत वर्ष ताक्लाकोटमा मजदुरी गरी १० लाख रुपैयाँ कमाएका थिए ।

हुम्लाका ७ वटै गाउँपालिकाका झण्डै १० हजार व्यक्ति बर्सेनि व्यापार र मजदुरीका लागि चीन जाने गरेका थिए । यस वर्ष भारतीय पर्यटक नआउँदा पनि हुम्लामा आर्थिक गतिविधि ठप्प भएको होटेल व्यवसायी संघका अध्यक्ष मिम लामाले बताए । उनका अनुसार भूकम्पपछि भारतीय पर्यटकले मानसरोवर–कैलाश जान हिल्सा नाका प्रयोग गर्दै आएका थिए । ‘पर्यटक नआउँदा आर्थिक कारोबार शून्य छ,’ उनले भने, ‘कारोबार शून्य बनेपछि करौडौं लगानीमा खुलेका होटेल बन्द हुने अवस्थामा पुगे ।’

प्रकाशित : आश्विन १, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?