कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

टोलटोलमा ‘मिस्डकल’ अभियान

ज्योति कटुवाल

दैलेख — कोरोना महामारी र लकडाउनका कारण विद्यालयको पठनपाठन अवरुद्ध भएपछि दुल्लु नगरपालिकाले टोलटोलमा ‘मिस्डकल’ अभियान सुरु गरेको छ । विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन ५८ विद्यालयमा ३ महिनादेखि ‘मिस्डकल’ अभियान सञ्चालन भइरहेको हो ।

‘विद्यार्थीले आफूले पढ्न चाहेको बेला शिक्षकलाई मिस्डकल गरे पुग्छ,’ दुल्लु नगरप्रमुख घनश्याम भण्डारीले भने, ‘मिस्डकल आएपछि शिक्षकले कल ब्याक गरी विद्यार्थीको जिज्ञासा समाधान गरिदिन्छन् ।’ मिस्डकलसँगै केही विद्यालयले टोल शिक्षा पनि सञ्चालन गरिरहेको उनले बताए । उनका अनुसार अभियान सञ्चालन गरेपछि अभिभावकलेसमेत बालबालिकाको पढाइबारे चासो राख्न थालेका छन् ।

केही ठाउँमा टोल शिक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने बानीको विकास गराएको नगरपालिकाले जनाएको छ । कतिपय ठाउँमा फोन नलाग्ने समस्या देखिएपछि विद्यार्थीको मागअनुसार टोल शिक्षा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले बताए । उनका अनुसार असोज १ गतेबाट एक दिनमा एउटा कक्षा सञ्चालन गर्ने गरी विद्यालय खोल्ने तयारी थालिएको छ । ‘संक्रमणको क्रम रोकिए असोज १ देखि आधारभूत विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गर्छौं,’ उनले भने, ‘कोरोनाको त्रास नहट्दासम्म माथिल्ला कक्षाका विद्यार्थीका लागि खेतबारी, छहारी, जंगललगायतमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ ।’

गुराँस गाउँपालिकाले पनि विद्यार्थीमा पठनपाठनको रुचि जगाइराख्न स्वअध्यन सामग्री वितरण गरेको छ । विद्यार्थीका घरघरमा पुगी शिक्षण सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ‘विद्यार्थीले घरमा अध्ययन गरेका छन् या छैनन् भन्नेबारे बुझ्न शिक्षकहरुलाई घरघरमा खटाइएको छ,’ उनले भने, ‘अनुगमनमा गएका शिक्षकले विद्यार्थीका जिज्ञासाको समाधानसमेत गर्ने व्यवस्था मिलाइएको छ ।’ उनका अनुसार गाउँपालिकाले १४ स्थानमा टोल शिक्षा पनि सञ्चालन गरिरहेको छ ।

चामुण्डाबिन्द्रसैनी नगरपालिकाले पनि टोल शिक्षा सञ्चालन गर्न ६ वटा टोलमा २/२ जना शिक्षक खटाएको छ । जंगले, पल्लो जंगले, हाडाकोट, देउराली र चामुण्डा माविका शिक्षकलाई टोलटोलमा पठाइएको प्रम्ुख प्रशासकीय अधिकृत तिलक विकले बताए । उनका अनुसार कक्षा १ देखि ५ र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई २ समूहमा विभाजन गरी पठनपाठन भइरहेको हो । रेडियो, टेलिभिजन र अनलाइन माध्यम प्रयोग गरी वैकल्पिक शिक्षा सञ्चालन गरिरहेको नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले बताए ।

प्रकाशित : आश्विन १, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?