ठेकेदारले काम नगर्दा बाफुखोला स्वास्थ्यचौकी भवन अलपत्र

विप्लव महर्जन

सल्यान — बागचौर नगरपालिका–१२ बाफुखोलामा निर्माणाधीन स्वास्थ्यचौकी भवन सम्झौता अवधि सकिँदा पनि पूरा हुन सकेको छैन । भवन बनाउने जिम्मा पाएको एडी बिल्डर्सले एक वर्षयता काम अलपत्र छाडेको छ ।

ठेकेदारले काम नगर्दा बाफुखोला स्वास्थ्यचौकी भवन अलपत्र

१६ कोठे दुईतले भवन दुई वर्षमा सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले लापरबाही गर्दै आएको स्वास्थ्यचौकी इन्चार्ज विनोद केसीले बताए । उनका अनुसार अहिलेसम्म झन्डै ६० प्रतिशत काम मात्र सकिएको छ ।

२०७४ असोज ८ गते सम्झौता भएको योजना २०७६ असोज ८ सम्म सक्नुपर्नेमा काम रोकिएको एक वर्ष बित्दा पनि ठेकेदार सम्पर्कमा नआएको केसीले बताए । ‘भवन निर्माण बीचैमा रोकिएपछि पुरानो तथा पानी चुहिने भवनबाट सेवा दिनुपरेको छ । भवन पुरानो भएकाले सुत्केरी सेवा सञ्चालनमा सबैभन्दा बढी समस्या छ,’ उनले भने । कोठा अपुग भएकाले गर्भ जाँच र स्टोरका लागि कोठा भाडामा लिएर काम चलाइरहेको केसीको भनाइ छ ।

बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपक ओलीले ठेकेदारले विभिन्न बहाना बनाउँदै भवन निर्माणको काम अलपत्र पारेको बताए । ‘दुईतले भवनको ढलान भएर अहिले बाहिरबाट हेर्दा प्लास्टर भएको देखिन्छ,’ उनले भने, ‘तर झ्यालढोका, माथिल्लो तलामा कोठा निर्माण, रंगरोगन, बाइरिङलगायत धेरै काम बाँकी छन् ।’ उनका अनुसार ठेकेदारलाई पटकपटक सम्पर्क गर्न खोज्दा उनी फोन स्विचअफ गरेर बस्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारीकहाँ गएर ताकेता गर्न लगाए पनि काम हुन भएको छैन ।

एडी बिल्डर्स कम्पनीका ठेकेदार चन्द्रबहादुर ओलीले भने लकडाउनका कारण समयमै निर्माण सामग्री ल्याउन नसकेको र बर्खामा बाटो अवरुद्ध भएकाले काम प्रभावित भएको बताए । ‘समयमै काम सम्पन्न गराउने प्रयत्न गर्दागर्दै विभिन्न अवरोधले गर्दा ढिलाइ भयो,’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?