कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मध्यपहाडी लोकमार्गको सडक भासियो

हरि गौतम

रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम सकिएको एक वर्षमै सडकमा समस्या आउन थालेको छ । कालोपत्रे गरिएको मुसीकोट खण्डमा सडक भासिनुका साथै चिरा परेको छ ।

मध्यपहाडी लोकमार्गको सडक भासियो

मध्यपहाडी लोकमार्ग योजना कार्यालयले १४ किलोमिटर लामो उक्त खण्डको कालोपत्रेको जिम्मा कालिका कन्स्ट्रक्सनलाई दिएको थियो । ‘कम्पनीले काम सकेर हिँडिसक्यो, यता भने सडक भासिन सुरु भएको छ,’ मुसीकोट नगरपालिका नगरप्रमुख देवीराम गौतमले भने, ‘सडक कति भासिएको छ भन्नेबारे अध्ययन गरेर मर्मतको काम गर्न हामीले सम्बन्धित निकायमा भनिसकेका छौं ।’ सडक भासिनुका साथै विभिन्न स्थानमा चिरासमेत परेका उनले बताए ।

सडक भासिएपछि सवारी चलाउनसमेत जोखिम बढेको छ । मुसीकोटका स्थानीय यज्ञबहादुर ओलीले धेरै ठाउँमा जोखिम उठाएर गाडी गुडिरहेका बताए । ‘सडक कालोपत्रे नहुँदा कच्ची सडकका कारण जोखिम बढी थियो, अब भने भासिएका कारण जोखिम बढ्दै गएको छ,’ उनले भने, ‘भासिएका कतिपय ठाउँमा ग्राभेल हालिएको छ, त्यसले गर्दा झन् बिजोग भएको छ ।’

लोकमार्गमा गाडी चलाउने चालक विजय विकले कालोपत्रे भएको सडक भाँसिदा समस्या भएको बताए । धेरै ठाउँमा सडकको संरचना फेर्नुपर्ने गरी सडक भासिएको उनको भनाइ छ । मुसीकोट नगरपालिकाको शितलपोखरीदेखि रिनदहसम्मको खण्ड एक वर्षअघि कालोपत्रे गरिएको हो । रुकुम पूर्वको भूमे गाउँपालिका–१ नम्बर क्षेत्रदेखि बाग्लुङको सिमानासम्मको कालोपत्रेको काम पनि गत वर्ष सकिएको थियो । अन्य खण्डमा कालोपत्रको काम भइरहेको छ । मुसीकोट नगरपालिकाका नगर प्रमुख गौतमले समयमै समस्याग्रस्त सडकको अध्ययन गरी मर्मतको काम गर्नुपर्ने बताए । ‘भासिँदै गएको सडकले समस्या हुने देखिएको छ,’ उनले भने, ‘यसको सुधार वा व्यवस्थापन के हुन्छ त्यो गर्न भनि पठाइएको छ ।’

लोकमार्गको दैलेख योजना कार्यालयले भासिएको ठाउँको मर्मतसम्भार हुने जनाएको छ । सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले ठूलो पानी परेर, पहिरो झरेर, सडक भासिएको र त्यसको चाँडै पनर्निर्माण गरिने हुने बताए । सम्बन्धित निर्माण कम्पनीबाटै काम गराइने उनको भनाइ छ । ‘सडक भासिएको ठाउँको बिमा दाबी गरिएको छ, बिमाका प्रतिनिधिहरु आएर मूंल्याकन गरेपछि मर्मतको काम सुरु हुनेछ,’ उनले भने ।

रुकुम पश्चिम र रुकुम पूर्व गरी १ सय २३ किलोमिटर लामो सडक खण्डमध्ये आगामी वैशाखसम्म पछिल्लो पटक ठेक्का लागेको बाहेक काम सकिने शर्माले बताए । सेरीगाउँ–हासिवाङ खण्डको भने भर्खरै काम सुरु भएको छ । ३० महिनामा सक्ने गरी सम्झौता भएकाले यो खण्ड बाहेकको खण्ड वैशाखसम्म पूर्ण रुपमा कालोपत्रे भइसक्ने योजना कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?