कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जसले राजनीतिसँगै कृषिपेसा अँगाले

विप्लव महर्जन

सल्यान — टीकाराम ओली कुनै बेला माओवादीका बटालियन कमिसार थिए । पार्टीका थुप्रै जिम्मेवारीमा रही लडाइँका विभिन्न मोर्चामा पनि सहभागी रहे । अहिले उनी नेकपाको कर्णाली प्रदेशका सदस्य छन् । ४० वर्षीय ओली राजनीतिसँगै कृषि व्यवसायमा पनि संलग्न छन् ।

जसले राजनीतिसँगै कृषिपेसा अँगाले

उनले बाग्चौर नगरपालिका–२ मा सभ्यता नर्सरी सञ्चालन गरेका छन् । पाँच वर्षअघि चार लाख लगानीमा थालेको व्यवसायले यस वर्ष १० लाख आम्दानी दिएको सुनाउँछन् । विभिन्न फलफूलका बेर्ना बेचेरै उनले पाँच जनाको परिवार पाल्दै आएका छन् ।

पार्टीमा पहिलेजस्तो खटिन नपर्दा फुर्सदिलो भएकाले जीविकाका लागि बाबुबाजेले गरेको कृषि पेसालाई अँगालेको ओलीको भनाइ छ । ‘२०७१/०७२ मा नर्सरी दर्ता गरेको थिएँ । पाँच रोपनी जग्गामा अहिले कागती, सुन्तला, टिमुर , हलुवाबेदलगायत विभिन्न फलफूल र जडीबुटीका १ लाख ५० हजार बेर्ना लगाएको छु,’ उनले भने । तीन रोपनी जग्गा वार्षिक ३६ हजार रुपैयाँका दरले भाडामा लिएका ओलीले ।

‘राजनीतिलाई व्यवसाय बनाउन सकिँदैन । राजनीति त सेवा मात्र हो । जीविकोपार्जन गर्न अन्य काम आवश्यक हुन्छ । त्यही भएर मैले नर्सरी व्यवसाय अँगालेको हुँ,’ उनले भने । नेकपाकै कर्णाली प्रदेश सदस्य रहेकी पत्नी सुम्निमा डीसीले पनि उनलाई कृषि पेसामा भरथेग गर्दै आएकी छन् । आफ्नो नर्सरीमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । यसपालि कोरोना र बिचौलियाका कारण बजार पुर्‍याउन नसक्दा अझै ५० हजार टिमुरका बेर्ना बिक्री हुन नसकेको ओलीको गुनासो छ ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष रहेका नेकपाकै अर्का नेता लोकबहादुर डाँगीले पनि फलफूल नर्सरी सञ्चालन गरेका छन् । उनी कृषिमै बढी समय दिन्छन् । सुन्तला व्यवसायबाट पनि राम्रो आम्दानी गरिरहेका छन् । गत वर्ष जिल्लाकै उत्कृष्ट कृषकका रूपमा समेत पुरस्कृत भएका उनले २५ रोपनीभन्दा बढी जग्गामा सात सय सुन्तलाका बोट लगाएका छन् । त्यस्तै १० रोपनी जग्गामा सुन्तला, कागती, टिमुर नर्सरीसमेत सञ्चालन गरेका छन् । उनको नर्सरीमा दुई जनाले रोजगारी पाएका छन् ।

त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष ३५ वर्षीया करुणा खड्का भैंसी पालन व्यवसाय गर्छिन् । उनीसँग १३ वटा भैँसी छन् । यो व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । ‘दिउँसो सर्वसाधारणको काम गरी बिहान बेलुकी भैंसीपालनमा खटिन्छु,’ भैंसीले भनिन् । व्यवसायमा पतिले पनि सघाउँछन् । एक जना कामदार राखिएका छन् । कृषि व्यवसायबाटै छोटै समयमा सफल भएपछि उनी गत वर्ष त्रिवेणी गाउँपालिकाबाट पुरस्कृतसमेत भइन् ।

कपुरकोट बजारका तिलक शर्मा १० वर्षदेखि कृषि व्यवसायमा छन् । यस वर्ष २० लाख रुपैयाँको टिमुर र अन्य फलफूलका बेर्ना बिक्री गरेको उनले सुनाए । १० रोपनीभन्दा बढीमा फैलिएको छ उनको नर्सरी । ‘माग बढे पनि यसपालि कोरोनाका कारण खरिदकर्ता कम आएकाले सबै बेर्ना बिक्री हुन सकेन,’ उनले भने ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेसमबहादुर बस्नेत जिल्लामा राजनीतिसँगै कृषिमा लागेका एक दर्जनभन्दा बढी व्यक्तिले राम्रो प्रगति गरेको बताउँछन् । यस वर्ष फलफूल तथा जडीबुटीका बेर्नाबाट दुई दर्जनभन्दा बढी किसानले ५ करोड ६० लाख आम्दानी गरेको उनले जानकारी गराए । ‘किसानहरूले यो वर्ष मात्र फलफूललगायत जडीबुटीका २८ लाख बेर्ना रुकुम, रोल्पा, जाजरकोट, पाल्पा, प्युठान, गोरखालगायत जिल्लामा निकासी गरेका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?