कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बालबालिकालाई घरमै सिकाइ सामग्री

तुलाराम पाण्डे

कालीकोट — चैतदेखि विद्यालय नदेखेकी खाँडाचक्र नगरपालिका–४ ताडीकी ८ वर्षीया कोपिला विश्वकर्मा बिहीबार पाठ्य सामग्री पाउँदा खुसी भइन् । ३ कक्षामा अध्ययनरत कोपिलाले भनिन्, ‘दिउँसो भाइबहिनीलाई हेर्नुपर्छ, छकाल–बाहा (बिहान–बेलुकी) पढ्न पाइने भयो ।’ पुराना किताब च्यातिएकोले चैतपछि किताब देख्न नपाएको उनले बताइन् ।

बालबालिकालाई घरमै सिकाइ सामग्री

कोरोना कहरका कारण विद्यालय बन्द भएपछि घरमै बसिरहेका बालबालिकालाई पठन सामग्री वितरण गरिएपछि उनीहरु खुसी भएका छन् । विद्यालय गएर पढ्न नपाए पनि घरमै नयाँ पुस्तक पाउँदा पढ्नतिर ध्यान गएको उनीहरुको भनाइ छ । नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत कोपिलाले पुस्तकसँगै लेखन सामग्री पाएपछि खोलेर चित्र हेरेकी थिइन् । ‘चित्रमा साबुन–पानीले हातधुने तरिका लेखिएको रहेछ,’ उनले भनिन्, ‘तरकारी खेती, चाडपर्वका कुरा पनि लेखिएका रहेछन् ।’

खाँडाचक्र नगरपालिको यूनिसेफको सहयोगमा बालविकास केन्द्रमा अध्ययनरत कक्षा ३ सम्म अध्ययनरत १ सय ४३ जनालाई सामग्री वितरण गरेको हो । प्रधानाध्यापक रामबहादुर बोगटीले विद्यालय बिदा भए पनि विद्यालयले टोलटोलमै पुगेर सामग्री वितरण गरेको बताए । नगरपालिकाको नवज्योतिसहित पञ्चदेव मावि, चुलिमालिका मावि, कालिका मावि, मेघमति आवि, जनप्रभात मावि, लिगासैनी मावि, प्रगतिशील मावि, कुलदेव मावि, विजोशी मावि र कर्णाली माविको सेवा क्षेत्रका बालबालिकालाई सिकाइ सामग्री दिएको हो । खाँडाचक्रका नगर शिक्षा शाखा प्रमुख जसीप्रसाद चौलागाईँले घरमा पठनपाठनको वातावरण नभएका, पाठ्यसामग्री अभाव भएका बालबालिकालाई सिकाई सामग्री दिइएको बताए ।

कोरोना कहरमा क्वारेन्टाइन बनाइएका रास्कोट नगरपालिकाका ९ विद्यालयमा पनि सिकाइ सामग्री दिइएको छ । महावै गाउँपालिकाका १८ वटा विद्यालयमा अध्ययनरत १ हजार ३ सय २९ जना बालबालिकालाई पनि झोलासहितका सिकाइ सामग्री उपलब्ध गराइएको स्रोतव्यक्ति परेकबहादुर शाहीले बताए । कालीकोटका ९ वटै स्थानीय तहमा रहेका ५६ विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाका अनुसार अहिले सबै विद्यालयमा रहेका क्वारेन्टाइन हटाइसकिएका छन् ।


घरमै सिकाइ सामग्री पाएपछि किताब हेर्दै खाँडाचक्र–४, दलितटोलकी एक बालिका । तस्बिर : तुलाराम/कान्तिपुर

असोजदेखि विद्यार्थी भर्ना गरिने

खाँडाचक्र नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई परिपत्र गर्दै नयाँ भर्ना गर्न शिक्षक खटाएको छ । सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरसहित शिक्षकलाई टोल–टोलमा खटाएर विद्यार्थी भर्ना गर्न परिपत्र गरेको नगर शिक्षा अधिकृत वीरेन्द्र शाहीले बताए । असोज १ गतेपछि अवस्था हेरेर विद्यालय खुल्न सक्ने, नखुले पनि टोलटोलमै पढाइ सञ्चालन गरिने उनको भनाइ छ । जनजीवन मावि ताडीले ७ जना शिक्षकलाई ७ वटा टोलमा खटाएर बालबालिकाको अवस्थाबारे जानकारी लिइसकेको शाहीले बताए ।

तिलागुफा नगरपालिकाले साउनमै भर्ना सुरु गरे पनि ३ हप्तामै विद्यालय बन्द गरेको थियो । नगरपालिकाको मुख्य बजार केन्द्र नाग्म आसपास केही व्यक्तिलाई कोरोना देखिएपछि विद्यालय बन्द गर्नुपरेको नगर प्रमुख रतनबहादुर शाहीले बताए । संक्रमण फैलिन नदिन विद्यालय बन्द गरेर नगरका एक वडाबाट अर्को वडामा आवतजावत गर्नसमेत बन्द गरिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?