कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दैलेखका आइसोलेसन र क्‍वारेन्टाइन रित्तिए

ज्योति कटुवाल

दैलेख — कर्णाली प्रदेशमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको दैलेखका अधिकांश आइसोलेसन र क्वारेन्टाइन रित्तिएका छन् ।

दैलेखका आइसोलेसन र क्‍वारेन्टाइन रित्तिए

२ महिनाअघिसम्म कर्णालीमा ‘रेडजोन’ मानिएको दैलेखमा संक्रमित र भारतबाट फर्कनेको संख्या घटेपछि आइसोलेसन र क्वारेन्टाइन रित्तिएका हुन् ।

भारतबाट फर्कने नागरिकको संख्या ह्वात्तै बढेपछि जेठ र असार महिनाभरि सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भएको थियो । जिल्लाभरि झण्डै १२ हजार जना क्वारेन्टाइनमा बसेको स्थानीय तहको तथ्यांक छ । जेठ ५ मा पहिलो संक्रमित फेला परेपछि दैलेख कर्णालीको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको थियो । संक्रमणका कारण ३ जनाले ज्यानसमेत गुमाए ।

२ महिना अघिसम्म भरिभराउ भएका नारायण र दुल्लु नगरपालिकाका क्वारेन्टाइन र आइसोलेसन अहिले खाली छन् । ‘भारतबाट आउनेको संख्या बढेपछि एउटै कोठामा २० जनासम्मलाई राख्न बाध्य थियौं,’ दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले भने, ‘उच्च सावधानी र सतर्कताले भयाभह स्थिति आएन, अहिले क्वारेन्टाइन र आइसोलेसन रित्तै छन् ।’

स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म १ हजार ७४ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १ हजार ४२ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्तले बताए । उनका अनुसार अहिले ३२ जना संक्रमितलाई आइसोलेसन र २१ जनालाई होम आइसोलेसनमा राखिएको छ ।

८ हजार ९८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए । ‘घरमा बसिरहेका कसैमा पनि संक्रमणको लक्षण देखिएको छैन,’ उनले भने, ‘होम आइसोलेसनमा बसिरहेकालाई स्वास्थ्यकर्मी र चिकित्सकको निगरानीमा राखेका छौं ।’

कार्यालयले पहिलो चरणमा भारतबाट फर्किएका १३ हजार २ सय ४२ जनाको आरडीटी गरेको थियो । जिल्लामा ११ स्थानीय तहले ९ हजार २ सय १३ बेडको आइसोलेसन बनाएका छन् । अहिले ८ जना मात्र क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाहिरबाट आएकाको सहज व्यवस्थापन र स्वाब संकलनलाई तीव्रता दिइएका कारण आइसोलेसन र क्वारेन्टाइन रित्तिएको नारायण नगरपालिका प्रमुख सावित्री मल्लले बताइन् । ‘समुदायस्तरमा पनि स्वाब संकलन तीव्र पारिएको छ,’ उनले भनिन्, ‘जनचेततना अभियानलाई पनि गाउँगाउँमा पुर्‍याएका छौं ।’

कोरोना न्यूनीकरण समिति गठन गरी प्रतिकार्य योजनासाथ अघि बढेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङलाई जिल्लाभरि तीव्रता दिइएको छ,’ उनले भने, ‘जिल्लाभित्रै पीसीआर परीक्षण हुँदा पनि संक्रमण नियन्त्रणमा सहयोग पुग्यो ।’ उनका अनुसार समुदायस्तरमा मात्रै २ हजार १ सय ५५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?